मनसुन सकिएपछि मौसम परिवर्तन हुने हुँदा (गर्मीबाट बिस्तारै जाडोतिर जाने समयमा) भाइरल फ्लु (घाँटी दुख्ने, जोरो आउने, रुघाखोकी लाग्ने) को जोखिम उच्च हुन्छ।
मनसुनलगत्तै वातावरणमा आद्रता घट्दै जाने र बिहान-बेलुका चिसो बढ्ने गर्छ, जसले गर्दा भाइरसहरू बढी सक्रिय हुन्छन्। मौसमको अचानक परिवर्तनका कारण शरीरले तुरुन्तै अनुकूलन गर्न नसक्दा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन पुग्छ। यस समयमा इन्फ्लुएन्जा र अन्य भाइरसहरू हावाका माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सहजै सर्छन्।
मुख्य लक्षणहरूमा अचानक उच्च वा मध्यम खालको ज्वरो आउने, घाँटी खसखस हुनु वा दुख्नु जसका कारण थुक निल्न गाह्रो हुने र घाँटी दुख्ने, रुघाखोकी र हाछ्युँसहित नाकबाट पानी बग्ने, नाक टालिने र लगातार सुक्खा वा कफसहितको खोकी लाग्ने, शरीर र टाउको दुख्दा मांसपेशी तथा जोर्नीहरू अत्यधिक दुख्ने र टाउको भारी हुने र अत्यधिक थकान शरीर गल्ने, आलस्य हुने र कमजोरी महसुस हुने लक्षण देखा पर्छन् । यस समयमा फ्लुबाट बच्नका लागि अपनाउनुपर्ने उपायहरूलाई तल मुख्य शीर्षकहरूमा प्रस्तुत गरिएको छ ।
व्यक्तिगत सरसफाइ र सावधानी
नियमित हात धुने: बाहिरबाट घर फर्किएपछि, खाना खानुअघि वा नाक-मुख छोएपछि साबुन-पानीले कम्तीमा २० सेकेन्डसम्म राम्ररी हात धुनुहोस्।
नाक, मुख र आँखा नछोने: भाइरस प्रायः दूषित हातले नाक, मुख वा आँखा छुँदा शरीरभित्र प्रवेश गर्छ।
मास्कको प्रयोग: भीडभाड हुने ठाउँ वा सार्वजनिक यातायातमा जाँदा र आफूलाई वा अरूलाई रुघाखोकी लागेको छ भने अनिवार्य रूपमा मास्क प्रयोग गर्नुहोस्।
हाछ्युँ गर्दा वा खोक्दा छोप्ने: हाछ्युँ गर्दा वा खोक्दा कुहिनो वा टिस्यु पेपरले नाक-मुख छोप्नुहोस् र प्रयोग गरिएको टिस्युलाई तुरुन्तै ढक्कन भएको डस्टबिनमा फाल्नुहोस्।
खानपान र जीवनशैली
प्रचुर मात्रामा तातो पानी र झोल पदार्थ: शरीरलाई सुक्खा हुन नदिन र प्रतिरोधात्मक क्षमता बढाउन प्रशस्त मात्रामा तातो पानी, सुप, गेडागुडीको झोल र हर्बल चिया पिउनुहोस्।
भिटामिन ‘सी’ युक्त फलफूल: अमिला फलफूलहरू (कागति, सुन्तला, मौसमी, अमला) मा भिटामिन सी पाइने भएकाले यसले शरीरको रोगप्रतिरोधात्मक क्षमताबढाउन मद्दत गर्छ।
सन्तुलित र तातो भोजन: ताजा, सफा र घरमै बनेको पोषिलो खाना खानुहोस्। बाहिरको चिसो वा खुला राखिएका खानेकुरा खानबाट बच्नुहोस्।
पर्याप्त निद्रा र व्यायाम: दिनमा ७-८ घण्टाको राम्रो निद्रा र हल्का शारीरिक व्यायामले शरीरलाई स्वस्थ र भाइरसविरुद्ध लड्न सक्षम बनाउँछ।
मौसम अनुसारको पहिरन र वातावरण
मौसम अनुकूल कपडा: बिहान र बेलुका चिसो बढ्ने भएकाले जिउ ढाक्ने र न्यानो कपडा लगाउनुहोस्। एकाबिहानै वा राति चिसो हावाबाट बच्नुहोस्।
कोठामा हावाको आउजाउ: घर तथा कोठामा घाम र सफा हावा छिर्ने वातावरण बनाउनुहोस्।
अन्य रोकथाम र सतर्कता
सिजनल फ्लु भ्याक्सिन: वृद्धवृद्धा, ससाना बालबालिका, गर्भवती महिला वा दीर्घ रोगीहरूका लागि चिकित्सकको सल्लाहमा वार्षिक रूपमा दिइने ‘फ्लु भ्याक्सिन’ लगाउनु उपयुक्त हुन्छ।
सङ्क्रमित व्यक्तिबाट दूरी: फ्लु वा रुघाखोकी लागेका व्यक्तिबाट सम्भव भएसम्म सुरक्षित दूरी कायम राख्नुहोस्।
विशेष ध्यान दिनुपर्ने कुरा:
यदि अत्यधिक जोरो आउने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने वा लगातार खोकी लागिरहने जस्ता गम्भीर लक्षण देखिएमा आफैँ एन्टिबायोटिक वा औषधि नखाइ तुरुन्त नजिकैको स्वास्थ्य संस्था वा चिकित्सकसँग परामर्श लिनुहोस्।















Discussion about this post