महोत्तरी/असोज १० गते । रसुवामा आएको विनाशकारी बाढीमा बेपत्ता भएका महोत्तरीको मटिहानी नगरपालिका–७ का गंगाराम मण्डलको ३२ दिनपछि कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिएको छ।
बाढीमा बेपत्ता भएका मण्डलको लामो समयसम्म पनि अवस्था पत्ता लाग्न नसकेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो। अन्तिम संस्कारका क्रममा उनका १७ वर्षीय छोरा आदित्यराज मण्डलले मुखाग्नि दिएका थिए।
गंगारामले गत भदौ ९ गते परिवारसँग अन्तिमपटक कुराकानी गरेका थिए। त्यसपछि उनी परिवारको सम्पर्कमा आएका थिएनन्। रसुवामा पर्यटकलाई मानसरोवर यात्रामा लैजाने रिचा ट्रेक नामक संस्थामा कुकका रूपमा कार्यरत मण्डल बाढी आएपछि बेपत्ता भएका थिए।
बाढी आएको दिनदेखि नै परिवारजनले उनको अवस्थाबारे जानकारी पाउने आशामा खोजी तथा सम्पर्कको प्रयास गर्दै आएका थिए। तर, ३२ दिन बितिसक्दा पनि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएपछि परिवारले धार्मिक विधिअनुसार कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरेको जनाएको छ।
गंगारामको वास्तविक शव फेला नपरे पनि लामो समयसम्म कुनै जानकारी नआएपछि परिवारले परम्पराअनुसार अन्तिम संस्कार गरेको हो। उनका परिवारमा वृद्ध बुवा–आमा, श्रीमती र चार सन्तान छन्।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार रसुवामा आएको बाढीमा परेर महोत्तरीका ९ जना अझै बेपत्ता छन् भने ८ जना सम्पर्कमा आइसकेका छन्।















Discussion about this post