वीरगन्ज, असोज ८ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजले स्नातकोत्तर तह पहिलो वर्षमा अध्ययनरत आवासीय डाक्टरलाई अस्पतालले उपलब्ध गराएको छात्रावास, कोठा तथा क्वार्टर १२ घण्टाभित्र खाली गर्न निर्देशन दिएको छ।
कलेजले बिहीबार जारी गरेको सूचनामा पहिलो वर्षका आवासीय चिकित्सकका कक्षा, शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण तथा वार्ड र इमर्जेन्सी ड्युटीलगायत सम्पूर्ण गतिविधि अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जनाएको छ। साथै, सम्बन्धित ब्याचका विद्यार्थीलाई फिर्ता गर्न चिकित्सा शास्त्र अध्ययन संस्थान ९आईओएम० लाई औपचारिक आग्रह गरिएको कलेजले जनाएको छ।
कलेजका आवासीय चिकित्सकहरू विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएपछि प्रशासनले यस्तो सूचना जारी गरेको हो। चिकित्सकहरूले भदौ २९ गते कलेज प्रशासनसमक्ष स्वेच्छाचारी कारबाही फिर्ता गर्नुपर्ने, ड्युटी समय व्यवस्थित गर्नुपर्ने, अनावश्यक रूपमा हाजिरी नकाट्नुपर्ने तथा निर्वाह भत्ता समयमै उपलब्ध गराउनुपर्नेलगायत माग राखेका थिए।
माग पूरा गर्न दुई दिनको समय दिइए पनि सुनुवाइ नभएपछि उनीहरूले भदौ ३१ गतेदेखि अस्पतालमा धर्ना सुरु गरेका थिए। असोज ३ गते वार्ताका लागि बोलाइए पनि आफ्ना माग सम्बोधन नभएको आवासीय चिकित्सकहरूको भनाइ छ। उल्टै आफूहरूलाई धम्की र दबाब दिइएको उनीहरूको आरोप छ।
समस्या समाधानका लागि आवासीय चिकित्सकहरूले काठमाडौं पुगेर शिक्षा मन्त्री सस्मित पोखरेललाई समेत भेटेका थिए। त्यसपछि मन्त्री पोखरेलले आईओएम र चिकित्सा शिक्षा आयोगलाई समस्या समाधान गर्न निर्देशन दिएका थिए।
कलेजको पछिल्लो सूचनापछि आफूहरू अन्योलमा परेको आवासीय चिकित्सकहरूले बताएका छन्। पानी परिरहेको अवस्थामा तत्काल होस्टल खाली गर्न दिइएको निर्देशनले थप समस्या भएको उनीहरूको भनाइ छ। कलेजमा बस्न नपाउने अवस्था भए अन्यत्र अध्ययनको व्यवस्था मिलाइदिन उनीहरूले सरकार र आईओएमसँग आग्रह गरेका छन्।
नेशनल मेडिकल कलेजमा विभिन्न विभागमा स्नातकोत्तर तह पहिलो वर्षका करिब ५० जना आवासीय चिकित्सक अध्ययनरत छन्। उनीहरूले गत वैशाखको दोस्रो सातादेखि ड्युटी सुरु गरेका थिए। तीन वर्षको अध्ययनका लागि बुझाउनुपर्ने शुल्कमध्ये आफूहरूले ठूलो रकम कलेजलाई बुझाइसकेको उनीहरूको भनाइ छ।
















Discussion about this post