रौतहट, ८ असोज । अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना तोकिएका रौतहटका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका–७ बगाहीका २३ वर्षीय अफरोज अन्सारी छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका–६ स्थित कलैया बजारबाट पक्राउ गरेको हो।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले २०८१ पुस २४ गते अन्सारीलाई १८ वर्ष कैद, ६ लाख रुपैयाँ जरिवाना तथा अपराध पीडित राहत कोषमा २४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो।
फैसलापछि फरार रहेका अन्सारीलाई पक्राउ गरी जिल्ला अदालत बारा पेस गरिएको प्रहरीले जनाएको छ। अदालतको आदेशअनुसार उनलाई बुधबार कैद भुक्तानका लागि वीरगन्ज कारागार कार्यालय पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मिनबहादुर घलेले अन्सारी पक्राउ परेको जानकारी दिएका छन्।















Discussion about this post