जनकपुरधाम,फागुन १९ गते। नेपालको जनकपुर र भारतको अयोध्याबीच हवाई सेवा सञ्चालनको तयारी सुरु भएको छ । यि दुई शहरलाई जोड्ने गरी निजी वायुसेवा कम्पनी बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । सहजीकरणका लागि प्रदेश २ सरकारसँग समेत आग्रह गरिएको कम्पनीका एक अधिकारीले जानकारी दिए । हाल भारतको अयोध्यामा ‘मर्यादापुरुषोतम् श्रीराम’ नामबाट प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणाधीन छ। अयोध्यामा यो नरेन्द्र मोदी र योगी आदित्यनाथको महत्वाकांक्षीमध्येको परियोजना हो।
उक्त विमानस्थल निर्माण सम्पन्न भए लगत्तै बुद्धले जनकपुरबाट नियमित उडान गर्ने योजना बनाएको बुद्ध एयरका बिक्री तथा बजार निर्देशक रुपेश जोशीले बताए।
‘उत्तर प्रदशले उक्त विमानस्थल तयार भएलगत्तै एटीआर-७१ सिरिजका जहाज भएका कम्पनीलाई उडान खुला गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘यी वायुसेवा कम्पनीलाई मध्यनजर गर्दै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले हवाई अड्डा निर्माणका लागि अढाई अर्ब भारू बजेट उपलब्ध गराइसकेका छन्। यो विमानस्थलमा बुद्धले नै पहिलो नियमित उडान गर्नेछ।’
उडान योजना बारे यतिखेर छलफल भइरहेको उनले जानकारी दिए। उनका अनुसार केही दिनमै जनकपुर-अयोध्या उडान योजनाका लागि प्रारम्भिक प्रक्रिया सुरु गरिने छ।
यस अघि बुद्धले सुरु गरिसकेको काठमाडौं-बनारस उडान कोभिड-१९ का कारण करिब एक वर्षयता बन्द छ। नेपाल-भारत द्विपक्षीय उडान महामारीको अवस्था सामान्य भएसँगै पुनः बनारस उडान थालेर सुरु गर्ने योजना रहेको पनि उनले बताए। व्यवसायिक हिसाबले भारतीय गन्तव्यमा गरेको उडानबाट बुद्धको अनुभव उत्साहजनक छैन। तैपनि अन्तर्राष्ट्रिय उडानमा प्रयास गर्न भने नछाड्ने मनस्थितिमा कम्पनी देखिएको छ।
भगवान रामको जन्मभूमि मानिने अयोध्यामा भारत सरकारले रामको विशाल मन्दिर निर्माणको कार्य अघि बढाएको छ। सीताको जन्मथलो जनकपुर र रामको जन्मथलो अयोध्याबीच हवाई यातायात सुरु गर्दा विभिन्न पर्वमा श्रद्धालु भक्तजन र अन्तर्राष्ट्रिय धार्मिक पर्यटनमा टेवा पुग्ने जनाइएको छ।
तत्कालका लागि उक्त विमानस्थललाई एटीआर-७२ र क्यु-४०० सिरिजका जहाज उडान-अवतरण गर्न मिल्ने क्षमताको बनाइए पनि क्षमता विस्तार गर्दै एयरबस ३२० र बोइङ ७७७ सिरिजका जहाज आउजाउ गर्न सकिने क्षमताको बनाइने जनाइएको छ। ‘हामी सबैलाई थाहा छ, विश्वका अधिकांश मुलुकमा भारतीय मूलका नागरिक छन्। उनीहरुलाई सहजै अयोध्या आउने चाहना छ। यही कुरालाई मध्यनजर गर्दै युपी सरकारले अयोध्याको एयरस्ट्रिपलाई अन्तर्राष्ट्रिय विमानस्थलमा रुपान्तरण गर्न प्रस्ताव गरेको थियो,’ मुख्यमन्त्री आदित्यनाथले भनेका छन्।
एजेन्सीले तयार पारेको विवरण अनुसार विमानस्थल निर्माणका लागि प्रदेश सरकारले जग्गा अधिग्रहण गर्न करिब एक हजार करोड भारतीय रुपैयाँ दिइसकेको छ। स्थानीय प्रशासनले अधिग्रणको काम अगाडि बढाइसकेको छ। विमानस्थल निर्माणका लागि ३७७ एकड जमिन अधिग्रहण भइसकेको छ।
अयोध्या विमानस्थल अबको सात महिनामा तयार हुने योजनाअनुसार काम भइरहेको छ। यो बाहेक प्रदेशमा सात वटा विमानस्थल संचालनमा छन् भने कुशीनगर एयरपोर्ट संचालनयोग्य भइसकेको जनाइएको छ।





















Discussion about this post