जनकपुरधाम/भदौ १८ गते । जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिर आसपासको क्षेत्रलाई सरकारले ‘जोन ए’ संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयसँगै जानकी मन्दिरको मौलिकता, ऐतिहासिकता र सांस्कृतिक महत्व संरक्षणका लागि निर्माण तथा अन्य गतिविधिमा थप मापदण्ड लागू हुने भएको छ।
सरकारको निर्णयपछि जानकी मन्दिर आसपासमा भौतिक संरचना निर्माण, पुनर्निर्माण वा अन्य गतिविधि सञ्चालन गर्दा निर्धारित संरक्षणसम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ। यसले मन्दिरको ऐतिहासिक तथा पुरातात्त्विक स्वरूपमा असर पार्ने गरी हुने अनियन्त्रित निर्माण तथा संरचना थप्ने कार्यलाई नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयास भइरहेका बेला सरकारले मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रको दायरामा ल्याउने निर्णय गरेको हो। यसलाई मन्दिरको संरक्षणसँगै जनकपुरधामको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान जोगाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
यसअघि पनि पुरातत्व विभागले जानकी मन्दिरसहित आसपासका महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थललाई समेटेर संरक्षित क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाएको थियो। प्रस्तावित संरक्षित क्षेत्रमा जानकी मन्दिरसँगै शिवमन्दिर, राममन्दिर, सोनारपट्टी, जनकचोक, शिवचोक, तेलहा–मडहा पोखरी, अंगराजसर पोखरी हुँदै बारहबिघासम्मको क्षेत्र समेट्ने योजना अघि सारिएको थियो।
जानकी मन्दिर जनकपुरधामको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको प्रमुख ऐतिहासिक सम्पदा हो। मन्दिरको शिलान्यास सन् १८९४ मा भएको र निर्माण सन् १९११ मा सम्पन्न भएको इतिहास छ।
संरक्षित स्मारक क्षेत्र घोषणा भएपछि जानकी मन्दिरको मौलिक स्वरूप जोगाउनुका साथै आसपासका ऐतिहासिक तथा धार्मिक स्थल र सांस्कृतिक वातावरणको संरक्षणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, विश्व सम्पदा सूचीमा जानकी मन्दिरलाई समावेश गराउने प्रक्रियालाई समेत यस निर्णयले थप बल पुग्ने अपेक्षा गरिएको छ।















Discussion about this post