साउन ४ गते। रक्त व्यवस्थापन तथा स्वैच्छिक रक्तदान प्रवर्द्धनमा सक्रिय संस्था ब्लड फर नेपालले आफ्नो स्थापना भएको आठ वर्षको अवधिमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।
संस्थाका अनुसार २१ जुलाई २०२६ सम्म २६ हजार ६५६ वटा रगत व्यवस्थापनसम्बन्धी अनुरोध (Blood Requests) मा सहजीकरण गरिएको छ। यस अवधिमा ४ हजार ७८२ जना रक्तदाता परिचालन गरिएको छ भने विभिन्न रक्तदान कार्यक्रममार्फत ७ हजार ६३४ पिन्ट रगत संकलन गरिएको छ।
रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको “रगतका कुरा” अभियान अन्तर्गत हालसम्म २६५ वटा सचेतना कार्यक्रम सम्पन्न भएका छन्। साथै, रक्त व्यवस्थापन अभियानलाई प्रभावकारी बनाउन १०८ वटा साझेदार संस्थासँग सहकार्य विस्तार गरिएको संस्थाले जनाएको छ।
संस्थाका अनुसार विभिन्न अभियान तथा कार्यक्रममार्फत २ लाख ४० हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। साथै, आपत्कालीन अवस्थामा सहज रूपमा रक्तदाता परिचालन गर्न ११ हजार २०० भन्दा बढी स्वैच्छिक रक्तदाताको डाटाबेस तयार गरिएको छ।
हाल ब्लड फर नेपालमा १२० जना सक्रिय सदस्य विभिन्न प्रदेश तथा जिल्लाबाट रक्त व्यवस्थापन, जनचेतना अभिवृद्धि र स्वयंसेवा अभियानमा सक्रिय रूपमा संलग्न रहेका छन्।
संस्थाले यी उपलब्धि हजारौँ रक्तदाता, स्वयंसेवक, साझेदार संस्था, स्वास्थ्यकर्मी तथा शुभेच्छुकहरूको निरन्तर साथ, सहयोग र विश्वासका कारण सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि “रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस्” भन्ने लक्ष्यका साथ आफ्नो अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।















Discussion about this post