जनकपुरधाम/असार ३१ गते। उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२÷८३ मा वार्षिक मुद्दा फछर््यौट लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेको छ । अदालतका अनुसार असार ३१ गतेसम्म जिम्मेवारी सरी आएका २ हजार २६७ र नयाँ दर्ता भएका ४ हजार २४९ गरी कुल ६ हजार ५१६ मुद्दा दर्ता भएको छ । तीमध्ये ४ हजार ६१९ मुद्दा अर्थात् ७०.८८ प्रतिशत फछ्यौट भइसकेको उच्च अदालत जनकपुरधामका कायममुकायम मुख्य न्यायाधिश टेकनारायण कुँवरले बताउनु भयो । उहाँका अनुसार १ हजार ८९७ मुद्दा विचाराधीन रहेका छन् ।
पुराना मुद्दा फछ्यौटलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएका कार्यक्रमका कारण १८ महिना तथा दुई वर्षभन्दा पुराना सबै बाँकी मुद्दा शून्यमा झार्न सफल भएको अदालतले जनाएको छ ।चालु आर्थिक वर्षका लागि अदालतले ४ हजार ५४६ मुद्दा फैसला गर्ने वार्षिक लक्ष्य निर्धारण गरेको थियो । तर हालसम्म ४ हजार ६१९ मुद्दा फैसला गर्दै निर्धारित लक्ष्यको १०१.६० प्रतिशत उपलब्धि हासिल गरेको छ । आर्थिक वर्ष २०८३÷०८४का लागि अदालतले ६ हजार ८२६ मुद्दा दर्ता हुने अनुमान गरिएको छ ।
न्यायाधीशगत विवरणअनुसार कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले सबैभन्दा बढी १ हजार ४१६ मुद्दा फछ्यौट गरेका छन् । त्यसपछि न्यायाधीश टीकाराम आचार्यले १ हजार १७९, जगदीश घिमिरेले १ हजार २, राजुराम सिलवालले ९४०, कृष्णप्रसाद सुवेदीले ९२६, कैलासप्रसाद सुवेदीले ९०४, फुर्पा तामाङले ७७७, मुरारीबाबु श्रेष्ठले ७२०, कमलप्रसाद पोखरेलले ७१७ तथा श्यामकुमार भट्टराईले ५७८ मुद्दा फछ्यौट गरेका छन् ।
अदालतले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन अनलाइन बहस र तारिख, इजलासको लाइभ स्ट्रिमिङ, एसएमएसमार्फत पेसी सूचना, भिडियो कन्फ्रेन्सिङ सुनुवाइ, मेलमिलाप सेवा, सहायता कक्ष, ‘मिट द जज’ कार्यक्रम, गुनासो सुनुवाइ प्रणाली तथा अशक्त सेवाग्राहीका लागि ह्विलचेयर र हेल्पलाइन सेवासहित विभिन्न सेवाग्राहीमैत्री सुविधा सञ्चालनमा ल्याएको जनाएको छ ।
आगामी वर्ष अदालतले धनुषाका बाँकी १८ स्थानीय तहमा न्यायिक अन्तरसंवाद कार्यक्रम विस्तार गर्ने, विद्यालय तथा क्याम्पसमा कानुनी साक्षरता कार्यक्रम सञ्चालन गर्ने, सूचना प्रविधिको प्रयोग थप विस्तार गर्ने, स्थानीय तहका न्यायिक समितिलाई मेलमिलापसम्बन्धी मार्गनिर्देशन दिने तथा सुविधासम्पन्न पुस्तकालय, चमेनागृह, प्रविधिमैत्री सुरक्षा गेट र अत्याधुनिक शौचालय निर्माणलगायतका योजना कार्यान्वयन गर्ने जनाएको छ ।















Discussion about this post