जनकपुरधाम/असार २७ गते। युवाहरूमा आत्मविश्वास अभिवृद्धि, प्रभावकारी सार्वजनिक वक्तृत्व क्षमता विकास तथा नेतृत्व सीप विस्तार गर्ने उद्देश्यले आयोजित ‘इफेक्टिभ पब्लिक स्पीकिङ्ग तथा लियो ओरियन्टेसन’ तालिम शनिबार जनकपुरधाममा सम्पन्न भएको छ।
लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी तथा लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजको सहयोगमा लियो क्लब अफ जनकपुरधाम र लियो क्लब अफ जनकपुरधाम क्यापिटलको संयुक्त आयोजनामा तालिम सम्पन्न गरिएको हो।
कार्यक्रमको मुख्य उद्देश्य युवाहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै प्रभावकारी रूपमा सार्वजनिक मन्तव्य प्रस्तुत गर्ने कला विकास गर्नु र लियो आन्दोलनको उद्देश्य, संरचना तथा नेतृत्व विकाससम्बन्धी ज्ञान प्रदान गर्नु रहेको थियो। सहभागीहरूलाई व्यवहारिक अभ्याससहित सार्वजनिक वक्तृत्वका विभिन्न पक्षबारे प्रशिक्षण दिइएको थियो।
तालिमको पहिलो सेसनमा लियो ओरियन्टेसन सम्बन्धि तालिम लियो क्लब अफ जनकपुरधाम क्यापिटलका अध्यक्ष लियो विकाश साहले दिएको थियो। जसमा सहभागीहरूलाई लियो क्लबको इतिहास, स्थापना, उद्देश्य, संगठनात्मक संरचना, विभिन्न सामाजिक गतिविधि तथा सदस्यहरूको जिम्मेवारीबारे विस्तृत जानकारी गराएको थियो।
तालिमको दोस्रो सेसनमा लायन मनिष रमण साहले इफेक्टिभ पब्लिक स्पीकिङ्ग सम्बन्धि तालिम दिएको थियो । जसमा सार्वजनिक रूपमा आत्मविश्वासका साथ बोल्ने कला, प्रभावकारी प्रस्तुतीकरणका विधि, सञ्चार सीप, नेतृत्व विकास तथा व्यक्तित्व निर्माणसम्बन्धी विविध विषयमा प्रशिक्षण दिएका थिए। उनले सफल वक्ता बन्न नियमित अभ्यास, स्पष्ट सोच, सकारात्मक दृष्टिकोण तथा प्रभावकारी सञ्चार शैली आवश्यक हुने उल्लेख गर्दै युवाहरूलाई आफ्नो क्षमता पहिचान गरी समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
त्यसैगरी तेस्रो सेसनमा लायन मधुकर उपाध्यायले नेतृत्व विकास सम्बन्धि तालिम दिएको थियो। जसमा सफल नेतृत्वकर्ता बन्नलाई आवश्यक तालिम दिईएको थियो। तालिममा ३५ जना युवाहरुको सहभागीता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले सार्वजनिक रूपमा बोल्ने आधारभूत तथा व्यावहारिक सीप, प्रभावकारी प्रस्तुतीकरण गर्ने तरिका, नेतृत्व क्षमता अभिवृद्धि गर्ने उपाय तथा व्यक्तित्व विकाससम्बन्धी महत्वपूर्ण ज्ञान हासिल गरेको बताएका थिए। तालिमले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै भविष्यमा सामाजिक तथा व्यावसायिक जीवनमा समेत उपयोगी हुने विश्वास व्यक्त गरेका थिए।
आयोजकका अनुसार यस्ता तालिमले युवाहरूलाई सक्षम, जिम्मेवार र नेतृत्वदायी नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै सामाजिक सेवाका गतिविधिमा युवाहरूको सक्रिय सहभागिता बढाउने, नेतृत्व क्षमता अभिवृद्धि गर्ने तथा लियो आन्दोलनप्रति थप आकर्षित गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।
तालिमको समापनका अवसरमा सहभागी सबैलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा लियो तथा लायन्सका पदाधिकारी, सदस्यहरूका साथै विभिन्न क्षेत्रका युवाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। आयोजकहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने लायन्स क्लबहरू, प्रशिक्षक, सहभागी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले युवाहरूमा सकारात्मक सोच, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।















Discussion about this post