जनकपुरधाम/असार २५ गते। मिटरब्याज पीडितहरूले आफ्ना मागको सम्बोधनको दबाब दिन जनकपुरधामबाट काठमाडौंसम्मको तेस्रो पैदल न्याय मार्च सुरु गरेका छन्। मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनको अगुवाइमा बिहीबार तिरहुतिया गाछीबाट राजधानी केन्द्रित मार्चको शुभारम्भ गरिएको हो।
न्याय मार्चको उद्घाटन गर्दै आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले साहु–महाजनहरूले फर्जी तमसुक र कागजातको दुरुपयोग गर्दै अदालतमार्फत किसानको जग्गा कब्जा गर्ने र उनीहरूलाई भूमिहीन बनाउने कार्य बढिरहेको आरोप लगाए। यस्ता गतिविधिका कारण पीडितहरू न्यायको खोजीमा पुनः आन्दोलन गर्न बाध्य भएको उनले बताए।
उनले मिटरब्याजको नाममा भइरहेको अन्याय अन्त्य गर्न सबै पीडित र सरोकारवालाले एकजुट भएर आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा अभियन्ता निर्ग नवीनले सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाए। उनले पीडितहरूको आवाज राज्यसम्म पुर्याउन र न्यायको मागलाई बुलन्द बनाउन पुनः काठमाडौंसम्मको पैदल यात्रा सुरु गरिएको बताए।
उनका अनुसार न्याय मार्च राजधानी पुगेपछि सिंहदरबार घेराउ गर्दै सरकारसमक्ष आफ्ना माग तथा पीडा औपचारिक रूपमा प्रस्तुत गरिनेछ।
मार्च सुरु हुनुअघि तिरहुतिया गाछीमा मिटरब्याज पीडितहरूले विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले फर्जी तमसुकका कागजात जलाउँदै मिटरब्याजविरुद्धको आन्दोलनलाई निर्णायक चरणमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
आन्दोलनकारीहरूले मिटरब्याज पीडितलाई न्याय दिलाउन, फर्जी तमसुकका आधारमा भएका जग्गा कब्जा बदर गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।















Discussion about this post