सञ्जय मिश्रा/रौतहट/असार २३ गते। जिल्ला प्रशासन कार्यालय रौतहटले विद्यालय, स्वास्थ्य संस्था तथा अन्य संवेदनशील क्षेत्र वरपर सूर्तिजन्य पदार्थको बिक्री–वितरणमा कडाइ गर्ने भएको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै कानुनविपरीत सूर्तिजन्य पदार्थ बिक्री गरे कारबाही हुने चेतावनी दिएको हो।
प्रशासकीय अधिकृत मणि भूषण साहद्वारा जारी सूचनाअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्ति, विद्यार्थी तथा गर्भवती महिलालाई चुरोट, बिडी, सिगारलगायतका कुनै पनि सूर्तिजन्य पदार्थ बिक्री, वितरण वा निःशुल्क उपलब्ध गराउन कानुनले रोक लगाएको छ।
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार विद्यालय, स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा नेपाल सरकारले तोकेका सार्वजनिक स्थानबाट कम्तीमा १०० मिटरको दूरीभित्र रहेका घर वा पसलबाट सूर्तिजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ।
सूचनामा कानुन उल्लंघन गर्ने व्यक्ति वा व्यवसायीलाई ऐनको दफा १७ बमोजिम कारबाही तथा सजाय हुने उल्लेख गरिएको छ।
बालबालिका, विद्यार्थी र गर्भवती महिलामा सूर्तिजन्य पदार्थको पहुँच बढ्दै गएको गुनासो प्राप्त भएपछि यस्तो सूचना जारी गरिएको प्रशासनले जनाएको छ। सूर्तिजन्य पदार्थको सेवनले स्वास्थ्यसँगै पारिवारिक र सामाजिक जीवनमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले यसको नियन्त्रण आवश्यक रहेको प्रशासनको भनाइ छ।
प्रशासनले सूर्तिजन्य पदार्थ नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन जिल्लाका सबै स्थानीय तह, सुरक्षा निकाय र स्थानीय प्रहरी कार्यालयलाई कानुनको कडाइका साथ कार्यान्वयन गर्न अनुरोध गरेको छ। साथै, आम नागरिक, व्यवसायी तथा सरोकारवालालाई पनि अभियानमा सहयोग गर्न आह्वान गरिएको छ।















Discussion about this post