जनकपुरधाम/असार १७ गते। जनकपुरधाम उपमहानगरपालिकाले तयार गरेको ‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति–२०८२’ तथा त्यसको कार्यान्वयनका लागि प्रस्तावित पाँचवर्षीय कार्ययोजना अनुमोदन गराउन आयोजित पैरवीमूलक कार्यशाला बुधबार जनकपुरधाममा सम्पन्न भएको छ।
बेलायत सरकारको आर्थिक सहयोगमा पिपुल इन निडको नेतृत्व तथा दिव्य विकास स्रोत केन्द्रद्वारा सञ्चालित ‘सुरक्षा र न्याय कार्यक्रम’ अन्तर्गत आयोजित कार्यशालामा सहभागीहरूले नीति शीघ्र पारित गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके जनकपुरधाम उपमहानगरपालिका मधेश प्रदेशकै उदाहरणीय स्थानीय तह बन्न सक्ने बताएका छन्।
कार्यशालामा सहभागी सरोकारवालाहरूले आगामी नगरसभाबाट लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि पर्याप्त बजेट विनियोजन गर्न, उपमहानगरपालिकाका सबै निकायलाई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमैत्री बनाउन र नीति कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।
जनकपुरधाम उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख सुनील कुमार झाले सीमित स्रोत–साधनका कारण अपेक्षाअनुसार कार्यसम्पादनमा चुनौती रहेको बताए। उनले उपमहानगरपालिकाले लैङ्गिक हिंसा रोकथाममा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै दिव्य विकास स्रोत केन्द्रले नीति निर्माण, क्षमता अभिवृद्धि तथा समुदायस्तरमा जनचेतना फैलाउन महत्वपूर्ण सहयोग गरेको बताए।
झाले बजेट अभावका कारण केही कार्यक्रम सञ्चालनमा कठिनाइ भए पनि सामाजिक विकासका कार्यक्रमलाई निरन्तरता दिन नगर नेतृत्व सकारात्मक रहेको जानकारी दिए। उनले उपमहानगरपालिका क्षेत्रमा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिका लागि सुरक्षित आवास (सेफ हाउस) स्थापना गर्न आवश्यक जग्गा व्यवस्थापनमा सहयोगको आवश्यकता रहेको बताए।
कार्यशालामा बोल्दै इन्सेक मधेश प्रदेशका प्रमुख राजु पासवानले जनकपुरधाममा पछिल्लो समय लैङ्गिक हिंसाका घटना बढ्दै गएको उल्लेख गर्दै हिंसा न्यूनीकरणका लागि प्रभावकारी नीति र त्यसको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको बताए। उनले हिंसाविरुद्ध व्यापक जनचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधि प्रदीप कुमार यादवले सबै समुदायको अधिकार सुनिश्चित गर्न तथा लैङ्गिक हिंसा अन्त्यका लागि यस्तो नीति अत्यन्त आवश्यक रहेको बताए। उनले नीति मस्यौदा तयार भइसके पनि हालसम्म पारित हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै शीघ्र कार्यान्वयनमा ल्याउन आग्रह गरे।
पिपुल इन निडका सुनील कुमार साहले नीति निर्माण प्रक्रियामा विभिन्न सरोकारवालाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अब थप ढिलाइ नगरी नीति पारित गरी कार्यान्वयनमा लैजानुपर्ने बताए। उनले जनकपुरधामले उक्त नीति कार्यान्वयन गरेर अन्य स्थानीय तहका लागि समेत उदाहरण प्रस्तुत गर्न सक्ने धारणा राखे।
सुरक्षा र न्याय कार्यक्रमका परियोजना प्रबन्धक गणेश ठकुरीले नीति कार्यान्वयनपछि सामाजिक विकास, लैङ्गिक समानता प्रवर्द्धन तथा लैङ्गिक हिंसा रोकथामका प्रयासहरू थप प्रभावकारी हुने विश्वास व्यक्त गरे। समानतामूलक र समावेशी समाज निर्माणका लागि यस्ता नीतिहरूको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उनको भनाइ थियो।
दिव्य विकास स्रोत केन्द्रका जागेश्वर यादवले सञ्चालन गरेको कार्यशालामा सहभागी विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूले नीति यथाशीघ्र पारित गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको अध्यक्षता जनकपुरधाम उपमहानगरपालिका वडा नं. २२ का वडाध्यक्ष बिमलेश झाले गरेका थिए। समापन मन्तव्यमा उनले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सरकारी तथा गैरसरकारी सबै निकायले आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए। साथै समुदायस्तरमा जनचेतना अभिवृद्धि तथा नीति निर्माण प्रक्रियामा सहयोग पुर्याएकोमा दिव्य विकास स्रोत केन्द्रप्रति आभार व्यक्त गरे।
कार्यशालामा वडा नं. ४ का वडाध्यक्ष सुरेश झा, वडा नं. १४ का वडाध्यक्ष पुण्यप्रसाद यादव, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक शाखा प्रमुख सोर्या साह, जेड्सी फोकल पर्सन सुनिता यादव, योजना शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख तथा लैङ्गिक हिंसा रोकथाम र प्रतिकार्यका क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।





















Discussion about this post