धनुषा/जेठ ३० गते। जनकपुरधामको दशरथ तलाउस्थित शालीग्राम भगवान हनुमानजी रामजानकी कुम्हार कुटीमा महन्थ नियुक्तिको विषयलाई लिएर विवाद सार्वजनिक भएको छ। कुटीका स्वर्गीय महन्थ अघनु दासका छोरा लक्ष्मण कुमार पण्डितले महन्थ नियुक्ति प्रक्रियामा जग्गा लेनदेनको चलखेल भएको आरोप लगाएका छन् भने आरोपित पक्षले उक्त आरोपलाई निराधार र असत्य बताएका छन्।
शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा लक्ष्मण कुमार पण्डितले जानकी मन्दिरका उत्तराधिकारी महन्थ तथा वैष्णव संघका अध्यक्ष रामरोशन दासले आफूलाई महन्थ पदका लागि सिफारिस गरिदिने नाममा एक कठ्ठा जग्गा मागेको आरोप लगाए। आफूले कुटीको नाममा रहेको जग्गा दिन अस्वीकार गरेपछि चलखेल गरी आफ्ना जेठा दाजु विनोद पण्डितलाई महन्थ बनाइएको उनको दाबी छ।
लक्ष्मणका अनुसार पिता अघनु दासको निधनपछि वि.सं. २०७८ असार २ गते गुरु–शिष्य परम्पराअनुसार उनलाई महन्थको पाग–चादर ओढाइएको थियो। तर दुई दिनपछि असार ४ गते विनोद पण्डितलाई अघनु दासका एकमात्र गुरु–चेला तथा उत्तराधिकारी उल्लेख गर्दै महन्थका लागि सिफारिस गरिएको उनले बताए।
उनले तत्कालीन जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष जानकीराम साहको कार्यकालमा विनोद पण्डितलाई अघनु दासका एकल गुरु–चेला छोरा भएको प्रमाणित गरिएको दाबी गरे। तर हालका वडाध्यक्ष निरज साहको कार्यकालमा जारी नाता प्रमाणित कागजातमा आमा सहित दुवै दाजुभाइको नाम समावेश रहेको उनले बताए। साथै उनले रामरोशन दासलाई डेढ कठ्ठा र तत्कालीन वडाध्यक्ष जानकीराम साहलाई एक कठ्ठा जग्गाको प्रलोभनमा महन्थ नियुक्तिमा चलखेल गरिएको आरोप लगाए।
यता, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले आफूमाथि लगाइएका आरोपमा कुनै सत्यता नरहेको बताएका छन्। उनले अघनु दासको निधनपछि कुटीमा पुग्दा दुवै दाजुभाइलाई चादर ओढाएको स्वीकार गर्दै त्यसलाई महन्थ पद प्रदान गरेको नभई साधु समाजको तर्फबाट समवेदना स्वरूप गरिएको सम्मान भएको बताए।
उनले अघनु दासका दुई छोरामध्ये विनोद पण्डित शान्त स्वभावका र विवादबाट टाढा रहेको तथा लक्ष्मण पण्डित विभिन्न विवादमा मुछिएको भन्दै साधु समाजको सिफारिसका आधारमा जेठा छोरा विनोद पण्डितलाई महन्थ बनाउन समर्थन गरिएको बताए। आफूले दुवै दाजुभाइलाई विवाद नगरी एक जनालाई महन्थ र अर्कोलाई पुजारीको जिम्मेवारी लिन सुझाव दिएको समेत उनको भनाइ छ।
रामरोशन दासले कुटीको सम्पत्ति निजी नभई गुठीअन्तर्गत रहेको दाबी गर्दै महन्थ नियुक्ति गुठी संस्थानबाट भएको र आफूले नियुक्ति नगरेको बताए। साथै उनले लक्ष्मण पण्डितले महन्थ भइसकेका दाजुको अधिकार क्षेत्रभित्र पर्ने मन्दिर परिसरका सटरबाट रकम उठाउँदै आएको तथा गुठीले जग्गा खाली गर्न दबाब दिएपछि झुठा आरोप लगाउन थालेको आरोप लगाए।
यसैबीच, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का तत्कालीन वडाध्यक्ष जानकीराम साहले पनि आफूमाथि लगाइएको जग्गा लेनदेनको आरोप अस्वीकार गरेका छन्। उनले आफूले गुरु–चेला सम्बन्धको प्रमाणित गरेको भए पनि अघनु दासका कति छोरा छन् भन्ने विषयमा कुनै प्रमाणिकरण नगरेको बताए।
“यदि कसैले मलाई जग्गा दिएको प्रमाण छ भने सार्वजनिक गरियोस्,” उनले भने, “मेरो कार्यकालमा कसैसँग पैसा वा जग्गा लिएर काम गरेको छैन। ममाथि लगाइएका आरोप झुठा हुन्।”
कुम्हार कुटीको महन्थ नियुक्ति सम्बन्धी विवाद सार्वजनिक भएसँगै सम्बन्धित पक्षहरूबीच आरोप–प्रत्यारोप सुरु भएको छ। आरोपहरूको सत्यता सम्बन्धित निकायको छानबिनबाट मात्र स्पष्ट हुने देखिएको छ।





















Discussion about this post