महोत्तरी/जेठ २९ गते । विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा महोत्तरी जिल्लाको श्री नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय, मझौरा विष्णुपुरमा बालश्रम विरुद्ध वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा १२ जना छात्रछात्राले सहभागिता जनाएका थिए। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले बालश्रमको परिभाषा, यसको कारण र प्रभाव, बालश्रम न्यूनीकरणका उपाय तथा विश्व समुदायका लागि यो कसरी एक जटिल सामाजिक समस्याका रूपमा रहेको छ भन्ने विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।
कार्यक्रमका सञ्चालक राजकुमार साह रहेका थिए भने निर्णायक मण्डलमा चाँदनी कुमारी चौधरी, विलक्षण कुमार यादव र सन्तोष राई रहेका थिए। निर्णायक मण्डलले विद्यार्थीहरूको प्रस्तुति, विषयवस्तुको ज्ञान, अभिव्यक्ति क्षमता तथा प्रस्तुतीकरण शैलीका आधारमा नतिजा सार्वजनिक गरेको थियो।
प्रतियोगितामा कक्षा ९ की प्रिती कुमारी यादव प्रथम, कक्षा १० का रवि कुमार यादव द्वितीय तथा कक्षा ८ की काजल कुमारी यादव तृतीय हुन सफल भएका छन्।
कार्यक्रमका निर्देशक तथा बालश्रम विरुद्ध जनचेतना अभियानमा सक्रिय युवा अभियन्ता बृज किशोर यादवले बालश्रम अन्त्यका लागि समाजका सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीमा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। उनले कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शिक्षक, विद्यार्थी तथा सरोकारवालाप्रति धन्यवादसमेत ज्ञापन गरेका थिए।
बालश्रम विरुद्ध दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूमा बालअधिकार, शिक्षा र बालश्रम न्यूनीकरण सम्बन्धी सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।




















Discussion about this post