धनुषा/जेठ २७ गते। नेपाल पत्रकार महासंघ धनुषा शाखाले सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर्न माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना कार्यक्रम आयोजना गरेको छ।
महासंघको आह्वानमा भएको एक घण्टे धर्नामा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न, नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्न तथा मिडियाविरोधी नीति तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन साह ले सरकारले पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरिरहेको आरोप लगाए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी परिपत्रमार्फत सरकारी विज्ञापन तथा सूचना सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था गरिएकोप्रति आपत्ति जनाउँदै उनले यस निर्णयले संविधानले सुनिश्चित गरेको नागरिकको सूचनाको हकलाई कमजोर बनाउने बताए।
त्यसैगरी, शंकर साह, प्रकाशक महासंघ नेपालका अध्यक्ष, ले सार्वजनिक सूचना र सरकारी विज्ञापनबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गरेर सरकारले स्वतन्त्र मिडियाको आवाज दबाउन खोजेको आरोप लगाए। लोकतान्त्रिक मुलुकहरूमा विज्ञापन वितरणमा यस्ता प्रतिबन्धात्मक व्यवस्था नरहेको उल्लेख गर्दै उनले निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरे।
धर्नामा सहभागी सञ्चारकर्मीहरूले सरकारको गत चैत १८ गतेको निर्णय संविधान, विज्ञापन ऐन, सूचनाको हकसम्बन्धी कानुन तथा अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रतासम्बन्धी मान्यताविपरीत रहेको बताएका छन्। उनीहरूले उक्त निर्णयले स्वतन्त्र पत्रकारिता र नागरिकको सूचनामा पहुँचको अधिकारमा प्रतिकूल असर पार्ने चेतावनी दिएका छन्।
नेपाल पत्रकार महासंघ धनुषा शाखाले लोकतन्त्र, संविधान तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आन्दोलनलाई निरन्तरता दिने जनाएको छ। महासंघका अनुसार आन्दोलनलाई थप प्रभावकारी बनाउन आगामी दिनमा नागरिक समाज, मानवअधिकारकर्मी तथा विभिन्न सरोकारवाला निकायसँग ऐक्यबद्धता कार्यक्रमसमेत आयोजना गरिनेछ।





















Discussion about this post