जनकपुरधाम,माघ १६ गते।धनुषामा नेपाल विद्युत प्राधिकरणका चार जना कर्मचारीलाई घुस रकम सहित पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका वडा नं. ५ विश्रामपुरबाट अख्तियारले विद्युतका चार जना कर्मचारीलाई घुस रकम सहित रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्ने कर्मचारीहरुमा धनुषाको महेन्द्रनगरस्थित नेपाल विद्युत प्राधिकरण अन्तर्गत ढल्केवर फ्युज शाखामा कार्यरत चार जना रहेको अख्तियारले जनाएको छ । पक्राउ पर्ने कर्मचारीहरुमा सुपरभाइजर जगत नारायण साह, नवलकिशोर महतो, मनोहर कुमार महतो र एम कुमार महतो रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको टोलीले शुक्रबार दिउँसो ३ बजेको समयमा मिथिला नगरपालिका वडा नं. ५ विश्रामपुरबाटै उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका कर्मचारीले विश्रामपुरस्थित एक कुखुरा फर्म विद्युत जडान गरेको वापत सेवाग्राहीसँग गैरकानूनी रुपमा पाँच हजार रकम घुस लिएको अख्तियारले जनाएको छ । कर्मचारीको साथबाट घुस रकम समेत बरामद भएकाले भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीले जनाएको छ ।





















Discussion about this post