धनुषा/जेठ ४ गते । मधेश प्रदेशमा खेलकुद गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ ।
मधेस खेलकुद परिषद्का अनुसार प्रदेशभर खेलकुदको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित १९ वटा विधा समेटेर प्रतियोगिता सञ्चालन गरिएको हो ।
परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले मधेश प्रदेशका आठवटै जिल्लाबाट खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीहरूको सहभागिता रहने जानकारी दिए । उनका अनुसार प्रत्येक जिल्लाबाट १६७ पुरुष खेलाडी, १०८ महिला खेलाडी, १८ प्रशिक्षक तथा १० व्यवस्थापक गरी ३०३ जनाको सहभागिता रहनेछ ।
यसअनुसार आठ जिल्लाबाट कुल २ हजार ४७२ खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक प्रतियोगितामा सहभागी हुने परिषद्ले जनाएको छ ।
उनका अनुसार, महिला भलिबल, राष्ट्रिय खुला हाफ म्यारथन, कराँते र फुलकन्टेक्ट महिला÷पुरुष प्रतियोगिता जनकपुरधाममा भइरहेको छ ।
टेबल टेनिस महिला÷पुरुष महोत्तरीको जलेश्वरमा, ह्यान्डबल पुरुष महोत्तरीकै कान्ति बजारमा, फुटबल चन्द्रपुरमा, तेक्वान्दो महिला÷पुरुष निजगढमा भइरहेको छ ।
यस्तै, खो–खो र वास्केटबल पुरुषको कलैयामा, शारिरिक सुगठन पुरुष, जुडो महिला÷पुरुष वीरगन्जमा, ब्याडमिन्टन पुरुष मलगंवामा र आटीएफ महिला÷पुरुष लालबन्दीमा भइरहेको छ ।
भारोत्तोलन महिला÷पुरुष राजविराजमा, उसु र डोरीतान सप्तरीमा हुने आयोजकले जनाएको छ । बुद्धिचाल पुरुष सिरहाको गोलबजारमा, रग्वी सिरहामा र हक्की महिला÷पुरुष धनुषाको महेन्द्रनगरमा हुन लागेको छ ।
परिषद्का अनुसार प्रतियोगिताका खेलहरू प्रदेशका विभिन्न खेल मैदान तथा कभर्डहलमा सञ्चालन गरिनेछन् । प्रतियोगितामार्फत युवालाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासित, स्वस्थ र प्रतिस्पर्धी समाज निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ ।
साथै खेललाई व्यवसायीकरण गर्दै खेलाडी, खेलकुद क्षेत्र र समग्र मधेश प्रदेशको विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा परिषद्ले गरेको छ ।




















Discussion about this post