धनुषा/जेठ १ गते। जनकपुर साहित्य महोत्सवको सातौं संस्करण शुक्रबार जनकपुरधाममा सुरु भएको छ।
जनकपुरधामस्थित महेन्द्र नारायण निधि सभाहलमा आयोजित उद्घाटन समारोहमा मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभले पानसमा बत्ती बालेर महोत्सवको औपचारिक शुभारम्भ गरेका छ्न ।
महोत्सव उद्घाटन गर्दै मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शास्त्रार्थको उद्गमस्थल जनकपुरधामले फेरि आफ्नो ऐतिहासिक वैभव फर्काउने समय आएको बताए । जनकपुरधाम केवल भूगोल नभई संस्कार, संस्कृति र ज्ञानको भूमि रहेको उल्लेख गर्दै उनले यस्ता महोत्सवले मिथिलाको पहिचान पुनर्जीवित गर्न मद्दत गर्ने धारणा राखे ।
प्रदेश प्रमुख लाभले विद्यार्थीबीच हुने वक्तृत्वकला प्रतियोगितामा राजर्षि जनकको दरबारमा हुने शास्त्रार्थको शैली अपनाउन सुझाव दिए । यसले मिथिलाको इतिहास, संस्कृति र सभ्यताको जागरणमा योगदान पुग्ने उनको भनाइ थियो ।
उद्घाटन समारोहमा बोल्दै महोत्सवका परिकल्पनाकार तथा संघीय सांसद मनिष झाले साहित्य र समाजबीचको सम्बन्धलाई सुदृढ गर्दै बौद्धिक बहसको साझा मञ्च निर्माण गर्ने उद्देश्यले महोत्सवको थालनी गरिएको बताएका छन ।
उनले महोत्सवले नयाँ पुस्तामा साहित्यप्रति रुचि बढाउनुका साथै स्थानीय पहिचान, भाषा र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छ्न ।
नव मिथिला फाउन्डेसनको आयोजनामा भइरहेको महोत्सवबारे जानकारी दिँदै फाउन्डेसनका अध्यक्ष अमित साहले महोत्सवलाई मधेशको बौद्धिक विमर्शको महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए। उनले देश तथा विदेशका साहित्यकार, चिन्तक, शिक्षाविद् र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमलाई थप समृद्ध बनाउने उल्लेख गरे।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिणाले साहित्य, संस्कृति, इतिहास र शिक्षामाथिको विमर्शले समाजलाई नयाँ दिशा दिने भएकाले यस्ता महोत्सव महत्वपूर्ण हुने बताए । नेपाल–भारतबीचको सांस्कृतिक समानताले दुई देशको सम्बन्धलाई मजबुत बनाएको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।
उद्घाटन सत्रका प्रमुख वक्ता उद्योगपति उपेन्द्र महतोले २१औँ शताब्दी अर्थतन्त्रको युग भएकाले नेपाललाई समृद्ध बनाउने दिशामा सबै लाग्नुपर्ने बताए । गरिबीले समाजमा ईष्र्या र विभाजन जन्माउने भएकाले समृद्ध नेपाल निर्माण साझा लक्ष्य हुनुपर्ने उनको भनाइ थियो ।
महोत्सवका क्रममा क्यान्सरसँग संघर्षरत मैथिली साहित्यकार अशोक दत्तलाई १ लाख ५ हजार रुपैयाँ राशिको ‘अमित झा स्मृति पुरस्कार’ प्रदान गरिएको थियो । साथै मैथिलीका चर्चित नाटककार महेन्द्र मलंगियालाई सम्मान गरिएको छ ।
उद्घाटन कार्यक्रममा उद्योगपति उपेन्द्र महतो, जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोज साह लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। महोत्सवको सञ्चालन कला तथा साहित्य क्षेत्रमा परिचित नाम धिरेन्द्र प्रेमर्षीले गरिरहेका छ्न ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सव अवधिभर संस्कार, संस्कृति, धरातलीय साहित्य, शिक्षा, खेलकुद, राजनीति तथा परराष्ट्र नीति लगायत समसामयिक र बहुआयामिक विषयहरूमा विचार–विमर्श, अन्तरक्रिया र छलफल कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ।
साहित्यप्रेमी, विद्यार्थी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको महोत्सवले जनकपुरलाई पुनः एकपटक साहित्यिक राजधानीका रूपमा चिनाउने विश्वास आयोजकको रहेको छ।




















Discussion about this post