धनुषा/बैशाख २० गते । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को अवसरमा कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ धनुषाले एक दिने साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।
जनकपुरधाममा आयोजित उक्त गोष्ठीमा साइबर सुरक्षासम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो। कार्यक्रममा क्यान महासंघ धनुषाका अध्यक्ष बिनय साहले साइबर सेक्युरिटी, अनलाइन सुरक्षा, डाटा संरक्षण तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रममा क्यान महासंघ धनुषाका सचिव विमलेश झाले सहजीकरण गरेका थिए। उनले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटनाहरू पनि बढ्दै गएको उल्लेख गर्दै सचेतना अभिवृद्धि आवश्यक रहेको बताए।
गोष्ठीमा जिल्लाका विभिन्न कम्प्युटर इन्स्टिच्युटका प्रशिक्षार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले साइबर सुरक्षासम्बन्धी व्यवहारिक ज्ञान हासिल गर्न पाएको बताएका थिए। कार्यक्रममार्फत सूचना प्रविधिको सुरक्षित प्रयोगबारे युवापुस्तामा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजक क्यान महासंघ धनुषाको अध्यक्ष बिनय साहले जनाएको छ।



















Discussion about this post