धनुषा/गिरिजानन्द साह/बैशाख १८ गते।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सबैला धनुषाले केन्द्र प्रमुखहरूको उपस्थितिमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वित्तीय पहुँच विस्तार, उद्यमशीलता विकास तथा बचत संस्कृतिको प्रवर्द्धनबारे विभिन्न वक्ताहरूले आफ्नो धारणा राखेका थिए।
कार्यक्रमको अध्यक्षता शाखा कार्यालय सबैला धनुषाका प्रमुख ललित रायले गरेका थिए भने प्रमुख अतिथिका रूपमा संस्थाका विभागीय प्रमुख बिनोद प्रसाद साह सहभागी रहेका थिए। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि साहले गरेका थिए। शाखागत जानकारी कार्यालय प्रमुख ललित रायले गराएका थिए भने संस्थागत जानकारी तथा उद्देश्यबारे विभागीय प्रमुख रन्जना निरौलाले प्रकाश पारेकी थिइन्।
उद्घाटन सत्रमा बोल्दै सबैला नगरपालिका वडा नं.–९ का अध्यक्ष मनिष कुमार रायले जीवन विकास लघुवित्त वित्तीय संस्थाले ग्रामीण समुदायमा वित्तीय पहुँच पुर्याउँदै नागरिकको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याएको बताए। उनले स्थानीय उद्यमशीलता प्रवर्द्धनमा लघुवित्त संस्थाहरूको भूमिका अझ प्रभावकारी बनाउन नगरपालिका स्तरबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले बचत गर्ने बानीको विकास र साना उद्यमलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम उपयोगी रहेको उल्लेख गरे।
कार्यक्रममा बोल्दै संस्थाका विभागीय प्रमुख बिनोद प्रसाद साहले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले कर्जाको सही सदुपयोग गरी व्यवसायलाई सफल बनाउन सदस्यहरूलाई सुझाव दिँदै संस्थाले प्रविधिमैत्री र पारदर्शी कारोबार प्रणालीलाई प्राथमिकता दिँदै अघि बढिरहेको जानकारी दिए।
त्यसैगरी विभागीय प्रमुख रन्जना निरौलाले ग्राहक सदस्यहरूको चेतनास्तर वृद्धि, सामूहिक भावनाको विकास, नेतृत्व क्षमता अभिवृद्धि, बचत गर्ने बानीको विकास, उद्यमशीलता विस्तार, डिजिटल बैंकिङ सेवा तथा बहुबैंकिङबाट बच्ने उपायहरूबारे प्रशिक्षण दिएकी थिइन्। उनले वित्तीय साक्षरता नै आर्थिक सशक्तीकरणको आधार भएको बताइन्।
कार्यक्रमको सञ्चालन जिल्ला प्रमुख किशोर साहले गरेका थिए। कार्यक्रम उद्घाटन, प्रशिक्षण तथा पुरस्कार वितरण गरी तीन चरणमा सम्पन्न भएको थियो।
कार्यक्रममा शाखा कार्यालय सबैला धनुषाको कार्यक्षेत्रभित्र रहेका अतिविपन्न परिवारका बालबालिकालाई “एडोप्ट” गरी एक वर्षसम्मको शैक्षिक खर्च संस्थाले व्यहोर्ने जानकारीसहित छात्रवृत्ति प्रदान गरिएको थियो। साथै उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट उद्यमी तथा शाखाअन्तर्गत रहेका उत्कृष्ट केन्द्रहरूलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सबैलाका सई नन्दलाल यादव, लखनपुर जीवन विकास केन्द्रकी केन्द्र प्रमुख ललिता कापर, बालकृष्ण जीवन विकास केन्द्रकी केन्द्र प्रमुख प्रमिला देवी साह, पत्रकार गिरिजानन्द साह लगायत शाखा कार्यालय सबैलाका कर्मचारी तथा १५० भन्दा बढी सदस्यहरूको सहभागिता रहेको थियो।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण तथा शहरी क्षेत्रमा बचत, कर्जा र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आर्थिक सशक्तीकरणमा योगदान पुर्याउँदै आएको छ। स्थानीय तहका जनप्रतिनिधि तथा नागरिकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले संस्थाको प्रभावकारिता झल्किएको सहभागीहरूले बताएका छन्।















Discussion about this post