धनुषा/बैशाख १४ गते । भारतको नयाँ दिल्लीस्थित मलंगिया फाउन्डेसनको आयोजनामा ‘मलंगिया महोत्सव’ भव्य रूपमा सम्पन्न भएको छ । अप्रिल २४ देखि २८ सम्म पाँच दिन चलेको यस महोत्सवमा मैथिली साहित्यका प्रतिष्ठित नाटककार महेन्द्र मलंगियाका ३५ वटा नाटक मञ्चन गरिएको थियो ।
एउटै नाटककारका यति धेरै कृति एउटै स्थानमा मञ्चन गरिएको यो कार्यक्रमले गिनिज वल्र्ड रेकर्ड मा समेत स्थान बनाएको आयोजकले जनाएको छ । नेपाल र भारतका ३५ नाट्य संस्था तथा ३५ निर्देशकको सहभागितामा ती नाटकहरू प्रस्तुत गरिएका थिए ।
धनुषाको बभनगामास्थित कण्टीर झा माध्यमिक विद्यालयमा करिब ३० वर्ष अध्यापन गरेका मलंगियाले आफ्ना अधिकांश नाटक नेपालमै लेखेका हुन् । मैथिली रंगमञ्चमा उनले दिएको योगदानलाई महोत्सवमार्फत विशेष रूपमा सम्मान गरिएको थियो ।
महोत्सवमा नेपालबाट पनि सक्रिय सहभागिता रहेको थियो । जनकपुरधामको मिथिला नाट्यकला परिषद र मैथिली विकास कोषका साथै काठमाडौंबाट निर्देशक राम भजन कामतको निर्देशनमा तीन वटा नाटक मञ्चन गरिएको थियो ।
मलंगियाले ‘ओकरा आँगनक बारहमासा’, ‘पुस जाड कि माघ जाड’, ‘ओरिजनल काम’, ‘काठक लोक’, ‘एक कमल नोरमे’, ‘नसबन्दी’ लगायत झण्डै सात दर्जन मैथिली नाटक लेखिसकेका छन्, जसले मैथिली भाषा र रंगमञ्चको समृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको छ ।














Discussion about this post