बैशाख ५ गते/काठमाडौं । मधेश भूमिबाट करिब ४५ वर्षपछि लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ एफ, नेपालका डिस्ट्रिक्ट प्रेसिडेन्ट पदमा जनकपुरधामका लियो आकाश साह निर्वाचित हुँदै ऐतिहासिक सफलता हासिल गरेको छ। लियो क्लबको करिब ५० वर्ष लामो इतिहासमा मधेशको क्षेत्रबाट जिल्ला स्तरको नेतृत्वमा यस्तो उपलब्धि दुर्लभ मानिन्छ।
काठमाडौंमा सम्पन्न चौथो जिल्ला लियो सम्मेलन अन्तर्गत भएको अधिवेशनबाट आकाश साह डिस्ट्रिक्ट प्रेसिडेन्टमा निर्वाचित भएका हुन्। मधेशबाट करिब ४० वर्षपछि अध्यक्ष पदका लागि उम्मेदवारी दिनु नै ऐतिहासिक कदमका रूपमा हेरिएको थियो, जसले अहिले सफलता पाउँदै नयाँ इतिहास रचेको छ।
यस उपलब्धिले लियोमा आबद्ध मधेशका युवाहरूमा नयाँ ऊर्जा, उत्साह र नेतृत्वप्रतिको विश्वास थप मजबुत बनाएको छ। लामो समयदेखि नेतृत्वबाट पछाडि परेको मधेश अब अग्रपंक्तिमा उभिने संकेत यस घटनाले दिएको छ।
लियो आकाश साह यसअघि सन् २०२५ मा लियो जिल्ला परिषद ३२५ एफ का उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका अनुभवी र सक्रिय युवा नेता हुन्। संगठनभित्र उनको निरन्तर सक्रियता, स्पष्ट दृष्टिकोण, नेतृत्व क्षमता र युवामाझको लोकप्रियताले उनलाई यो जिम्मेवारीसम्म पुर्याएको विश्लेषण गरिएको छ।
उनको निर्वाचितसँगै मधेशबाट लियो क्लबको नेतृत्वमा नयाँ अध्याय सुरु हुने विश्वास गरिएको छ। साथै, समावेशी नेतृत्व, क्षेत्रीय सन्तुलन र युवा सशक्तिकरणको दृष्टिकोणले पनि यस उपलब्धिलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।














Discussion about this post