गिरिजानन्द साह/धनुषा/माघ २० गते। शिक्षा सम्बन्धी हकको प्रभावकारी अनुगमन तथा जवाफदेही शिक्षा सेवाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ कारखाना समूहद्वारा विकास गरिएका दुई महत्वपूर्ण पुस्तकहरू विमोचन गरिएको छ।
विमोचित पुस्तकहरूमा “शिक्षा–सम्बन्धी हकको अनुगमन उपकरण” र “जवाफदेही शिक्षा सेवाका लागि जनवकालत सन्दर्भ सामग्री” रहेका छन्। कार्यक्रमका क्रममा परियोजना क्षेत्रका सीमान्तकृत नागरिक समाज संस्थाहरूको ज्ञान र क्षमता सुदृढीकरणका लागि लैङ्गिक, समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GESI) दृष्टिकोण समेटेर उक्त अनुगमन उपकरण विकास गरिएको जानकारी दिइयो।
शिक्षा–सम्बन्धी हकको अनुगमन उपकरणले लैङ्गिक समानता र सामाजिक समावेशीताका दृष्टिकोणबाट शिक्षाको उपलब्धता, पहुँचयोग्यता, स्वीकार्यता र अनुकूलनशीलता जस्ता पक्षहरूलाई बहुकोणबाट मूल्याङ्कन गर्न सहयोग पुर्याउने बताइएको छ। यसले सीमान्त अवस्थामा रहेका पृष्ठभूमिका बालबालिकाहरूले शिक्षामा वास्तविक पहुँच पाएका छन् वा छैनन् तथा उनीहरू त्यसबाट कत्तिको लाभान्वित भएका छन् भन्ने विषयलाई नजिकबाट विश्लेषण गर्न प्रोत्साहन गर्ने जनाइएको छ।
यसैगरी, कारखाना समूहले शिक्षा नीति तथा अभ्यास केन्द्र (CEPP) सँगको साझेदारीमा विकास गरेको “जवाफदेही शिक्षा सेवाका लागि जनवकालत सन्दर्भ सामग्री” ले नेपालमा जवाफदेही र समावेशी शिक्षाका लागि वकालत गर्न शिक्षा सेवामा संलग्न अभ्यासकर्ता, नीति निर्माता तथा सरोकारवालाहरूलाई व्यावहारिक मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ।
विमोचित स्रोत सामग्रीहरूको प्रचार–प्रसार मधेश प्रदेशमा लक्षित कार्यशालामार्फत गरिने जानकारी दिइएको छ। मधेश प्रदेशमा साक्षरता दर राष्ट्रिय औसतभन्दा कम रहेको, साथै लैङ्गिक असमानता, भाषा अवरोध तथा दलित समुदायहरूको संरचनात्मक बहिष्करण जस्ता चुनौतीहरू विद्यमान रहेकाले उक्त प्रदेशलाई प्राथमिकतामा राखिएको बताइएको छ। मधेश प्रदेशको कुल साक्षरता दर ६३.५ प्रतिशत रहेको छ भने राष्ट्रिय औसत ७६.२ प्रतिशत रहेको तथ्य कार्यक्रममा प्रस्तुत गरिएको थियो। यसमा पुरुष साक्षरता दर ७२.५ प्रतिशत र महिला साक्षरता दर ५४.७ प्रतिशत मात्र रहेको छ।
सशक्त नागरिक समाज सशक्तीकरण (CSE) परियोजना अन्तर्गत तयार गरिएका सबै स्रोत र उपकरणहरूको संग्रह क्यु आर स्क्यान गरि पाउन सकिने जानकारी कार्यक्रममा गराईएको छ। यो विकि समग्र वकालत उपकरण बनाउनको लागि सशक्त नागरिक समाज सशक्तीकरण (CSE) परियोजनाको प्रयास हो। यसमा एक योगदान पृष्ठ पनि समावेश गरिएको छ, जहाँ विभिन्न योगदानकर्ताहरूले शिक्षा र समाज सुधारका लागि आफ्ना स्रोत र विचारहरू साझा गर्न सक्नेछन्।
आयोजित कार्यशालाहरूको मुख्य उद्देश्य शिक्षा–सम्बन्धी हकको अनुगमन उपकरण र जवाफदेही शिक्षा सेवाका लागि जनवकालत सामग्रीको व्यावहारिक प्रयोग प्रस्तुत गर्नु, व्याख्या गर्नु र प्रवर्द्धन गर्नु रहेको आयोजक कारखाना समुहले जनाइएको छ। यसबाट नागरिक समाज संस्थाहरू तथा शिक्षा सरोकारवालाहरूलाई प्रमाण सिर्जना गर्न र जवाफदेही तथा समावेशी शिक्षाका लागि वकालत सुदृढ गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।





















Discussion about this post