जनकपुरधाम। दाइजो प्रथा न्युनीकरण गर्न छोरीहरुलाई गुणस्तरीय शिक्षा, रोजगारीको अवसर र आत्मनिर्भर बनाउनु अपरिहार्य रहेको चर्चित नायिका रेखा थापाले बताएकी छन्।
दाइजो विरुद्धको सामाजिक जागरण कार्यक्रमका लागि जनकपुरधाम आएकी नायिका थापाले शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दाइजो प्रथा अन्त्यको मुख्य जिम्मेवारी अभिभावक र समाजकै हातमा रहेको बताइन्। उनले छोरी जन्मेदेखि नै उनीहरुलाई सक्षम, आत्मविश्वासी र आत्मनिर्भर बनाउने सोच विकास गर्नुपर्नेमा जोड दिइन्।
नायिका थापाका अनुसार दाइजो प्रथा केवल कानुन बनाएर अन्त्य हुने विषय होइन, यो समाजको गहिरोसँग जरा गाडेर बसेको सामाजिक कुरीति हो। “कानुन आवश्यक छ, तर कानुन बनेर मात्र पुग्दैन। जबसम्म समाजको सोच परिवर्तन हुँदैन, दाइजो प्रथा जस्ताको तस्तै रहिरहन्छ,” उनले भनिन्।
उनले छोरीहरुलाई दाइजोका लागि होइन, क्षमताका आधारमा मूल्याङ्कन गर्ने संस्कार विकास गर्नुपर्ने बताइन्। “छोरीलाई पढाउने, सीपमूलक तालिम दिने, रोजगारीमा सक्षम बनाउने हो भने उनीहरु आफैं आफ्नो जीवनको निर्णय गर्न सक्छन्। त्यसपछि दाइजोको कुरा स्वतः कमजोर हुँदै जान्छ,” थापाले स्पष्ट पारिन्।
दाइजो प्रथाका कारण धेरै महिलाहरू घरेलु हिंसा, मानसिक यातना, अपमान र सामाजिक अन्याय सहन बाध्य भइरहेको उल्लेख गर्दै उनले यसप्रति राज्य, समाज, परिवार र स्वयं महिलाहरूको साझा जिम्मेवारी रहेको बताइन्। उनले दाइजोको नाममा हुने हिंसा र उत्पीडनलाई कुनै पनि हालतमा स्वीकार गर्न नहुने धारणा व्यक्त गरिन्।
कार्यक्रममा नायिका थापाले कलाकार, सञ्चारमाध्यम, सामाजिक अभियन्ता र शिक्षण संस्थाहरूले निरन्तर रूपमा यस्ता सामाजिक कुरीतिहरू विरुद्ध आवाज उठाउनुपर्ने आवश्यकता औंल्याइन्। उनका अनुसार चलचित्र, कला र सञ्चार माध्यम समाज परिवर्तनका प्रभावकारी माध्यम हुन सक्ने भएकाले यिनको सही प्रयोग आवश्यक छ।
उनले महिला शिक्षा, सशक्तीकरण र समान अवसर सुनिश्चित गरिए मात्र समतामूलक, सभ्य र न्यायपूर्ण समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गरिन्।
आज जनकपुरधामको तिरुहुतिया गाछीमा आयोजना हुन लागेको दाइजो प्रथा विरुद्धको सामाजिक जागरण कार्यक्रमले स्थानीयस्तरमा चेतना अभिवृद्धि गर्ने र दाइजो विरुद्ध सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको छ।





















Discussion about this post