गिरिजानन्द साह/जनकपुरधाम/पुस १४ गते। जनकपुर जेसिजको आतिथ्यतामा सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनको कार्यक्रम स्थल तिरहुतिया गाछीस्थित फिल्डमा आइतबार बिहान व्यापक सरसफाई गरिएको छ। महाधिवेशन सम्पन्न भएपछि वातावरण संरक्षण र सामाजिक जिम्मेवारीको उदाहरण प्रस्तुत गर्दै जनकपुर जेसिजले सरसफाई कार्यक्रम आयोजना गरेको हो।

सरसफाई कार्यक्रममा जनकपुर जेसिजका बोर्डका पदाधिकारीहरू तथा महाधिवेशन कमिटीका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले फिल्ड परिसरमा रहेको फोहोर संकलन गरी व्यवस्थापन गर्दै स्थललाई सफा र व्यवस्थित बनाएका छन्।
महाधिवेशन निर्देशक सुधिर पंजियारले महाधिवेशनका क्रममा प्रयोग गरिएको स्थललाई सुरुमा लिएको अवस्थाभन्दा अझ राम्रो अवस्थामा फर्काउने उद्देश्यले सरसफाई गरिएको बताए। “हामीले जुन अवस्थामा स्थल लिएका थियौं, त्यसलाई सरसफाई गरी अझ राम्रो अवस्थामा छाड्ने हाम्रो दायित्व हो,” उनले भने। साथै उनले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरे।

डेपुटी कन्भेन्सन डाइरेक्टर गौतम साहले सन् २०१८ मा जनकपुर जेसिजले कन्भेन्सन आयोजना गर्दा तिरहुतिया गाछीको फिल्ड डम्पिङ साइटको रूपमा रहेको स्मरण गराउँदै त्यसबेला नै उक्त स्थानलाई कार्यक्रम स्थलका रूपमा विकास गरिएको बताए। “त्यस समयदेखि नै यो फिल्ड कार्यक्रम स्थलका रूपमा परिचित हुँदै आएको छ,” उनले भने। अहिले पनि जनकपुर जेसिज परिवारका सम्पूर्ण सदस्यहरू मिलेर फिल्डलाई पूर्ण रूपमा सफा बनाउने कार्यमा जुटेको उनले जानकारी दिए।
जनकपुर जेसिजले गरेको यस सरसफाई अभियानले वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक उत्तरदायित्व वहनमा संस्थाको प्रतिबद्धता झल्काएको स्थानीयले बताएका छन्।



















Discussion about this post