गिरिजानन्द साह/जनकपुरधाम/कार्तिक १० गते। विवाह पञ्चमी २०८२ को पावन अवसरमा जनकपुरधाम आइपुगेका ४,००० भन्दा बढी श्रद्धालु भक्तजनलाई निःशुल्क खाना वितरण गरिएको छ।
लियो क्लब अफ जनकपुरधाम क्यापिटलले आयोजना गरेको निःशुल्क भोजन सेवाले मिथिलाक्षेत्रको परम्परागत अतिथिसत्कार संस्कृति— “अतिथि देवो भवः”—लाई व्यवहारिक रूपमा प्रस्तुत गरेको आयोजकहरूको भनाइ छ। बिहानदेखि साँझसम्म निरन्तर रुपमा सञ्चालित निःशुल्क खाना वितरण कार्यक्रममा भोजनको व्यवस्थापन गरिएकाले भक्तजन अत्यन्त खुसी र सन्तुष्ट देखिएका थिए।
यस सेवामा लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी तथा साह ग्लास हाउसले सहकार्य गर्दै जनशक्ति, व्यवस्थापन, खाद्यान्न तथा सामग्री सहयोग प्रदान गरेका थिए।
लियो क्लब अफ जनकपुरधाम क्यापिटलका अध्यक्ष लियो विकास साहले कार्यक्रमको भावनात्मक महत्व वर्णन गर्दै भने— “विवाह पञ्चमी केवल धार्मिक पर्व मात्र होइन, मानवता, समर्पण र करुणाको संदेश हो। हामीले प्रदान गरेको एक छाक भोजनले हजारौँको मुस्कान र आशीर्वाद प्राप्त भयो। यही अनुभूति नै हाम्रो वास्तविक ‘लियो स्पिरिट’ हो।”
भोजन सेवा लिन आएका भक्तजनले आयोजकप्रति आभार व्यक्त गर्दै धार्मिक पर्यटन वृद्धि, व्यवस्थापन, सेवाभाव र स्वागत संस्कृतिले जनकपुरलाई अझै आकर्षक बनाइरहेको प्रतिक्रिया दिएका छन्।
विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा लाखौँको उपस्थितिलाई ध्यानमा राख्दै सुरक्षा, सरसफाइ, आवतजावत तथा भोजन सेवाले शहरको धार्मिक, सामाजिक र सांस्कृतिक सौन्दर्यलाई उचाइ दिएको जनाइएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र आगामी वर्षहरूमा अझ व्यापक तथा व्यवस्थित रूपमा निरन्तरता दिने प्रतिबद्धता आयोजकहरूले व्यक्त गरेका छन्।














Discussion about this post