जनकपुरधाम/भदौ २९ गते। जेनजी आन्दोलनका क्रममा क्षति पुगेको जनकपुरधाम उपमहानगरपालिका कार्यालय पुनः सञ्चालनमा ल्याउन कम्तीमा एक महिना लाग्ने भएको छ ।
उपमहानगरको पाँच तले भवन आन्दोलनकै बीचमा आगजनी र विस्फोटका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । उपमहानगरपालिका कर शाखा प्रमुख तथा प्रवक्ता परमेश झाले दिएको जानकारीअनुसार, कागजातदेखि अधिकांश विद्युतीय उपकरण लुटपाट वा नष्ट भएकाले तत्काल कार्यालय सञ्चालन गर्न असम्भव भएको छ ।
उनका अनुसार वितरणका लागि राखिएका करिब २०० ग्यास सिलिण्डरमध्ये ७८ वटा विस्फोट हुँदा भवनको पछाडिको भागमा ठूलो क्षति पुगेको छ । अहिले उपमहानगर प्रमुखको कार्यकक्ष, अभिलेख शाखा र लेखा शाखाबाहेक अन्य सबै शाखा पूर्ण रूपमा ध्वस्त भएका छन् ।
‘आवश्यक कम्प्युटर, प्रिन्टरलगायत सामग्री पुनः खरिद गर्नुपर्ने भएकाले, सरसफाइदेखि खरिदसम्मका कामलाई तत्काल सुरु गरे पनि कम्तीमा एक महिना लाग्नेछ,’ प्रवक्ता झाले बताए ।
आगलागीका कारण कार्यालय परिसरमा रहेको एक एम्बुलेन्स, दुई गाडी र करिब आधा दर्जन मोटरसाइकल समेत जलेर नष्ट भएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।














Discussion about this post