गिरिजानन्द साह/जनकपुरधाम/श्रावण ३ गते। नेपाल इन्जिनियर्स एसोसिएशन (NEA) मधेश प्रदेशद्वारा ६३ औं इन्जिनियर्स दिवसको अवसरमा शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ।

जनकपुरधामस्थित मौनिबाबा कुट्टी नजिक रहेको NEA को भवन निर्माण स्थल परिसरमा आयोजना गरिएको उक्त कार्यक्रम मधेश प्रदेश समितिका सभापति इन्जिनियर गौरी पण्डितको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमको प्रमुख अतिथि रत्नेश्वरलाल कर्णले इन्जिनियरहरूको योगदानलाई सम्मान गर्दै देशको पूर्वाधार निर्माणमा उनीहरूको भूमिकालाई अझ प्रभावकारी बनाउनेतर्फ जोड दिनुपर्ने बताउनु भयो। उहाँले जल संकट र जल स्रोतको दीर्घकालीन व्यवस्थापनका लागि इन्जिनियर समुदायको भूमिका अझै सशक्त हुनु पर्नेमा जोड दिनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य सभापति पण्डितले दिनुहुँदै ६३ वर्षदेखि निरन्तर इन्जिनियरिङ क्षेत्रले राष्ट्रिय विकासमा पुर्याउँदै आएको योगदान स्मरण गरे। उहाँले हामी इन्जिनियरहरू बौद्धिक वर्ग हौ हामी इन्जिनियरहरू हकहितको लागि एक ढिक्कै हुनुपर्छ र देशको बिकाशको लागि पनि एक ढिक्कै हुनुपर्छ बताउनु भयो।
कार्यक्रममा सहभागी वक्ताहरूले विशेष गरी तराई-मधेश क्षेत्रमा हाल देखिएको पानीको संकट, जमिन मुनिको जलस्तर घट्दै गइरहेको अवस्था, जलस्रोतको दिगो उपयोग, तथा भू–जल र सतहजलको व्यवस्थापन सम्बन्धमा विविध धारणा राखेका थिए।
वक्ताहरूले जनकपुरधामलगायत मधेशका सहरहरूमा खानेपानीको समस्या विकराल बन्दै गएको, अत्यधिक जमिनको दोहन तथा अनियन्त्रित भूगर्भ जल दोहनका कारण भविष्यमा जल संकट थप गम्भीर बन्ने खतरा रहेको चेतावनी दिएका थिए।
कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्ला तथा नगरपालिका स्तरमा कार्यरत इन्जिनियरहरू, पूर्वाधार विकासका सरोकारवाला, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रमको अन्त्यमा भवन निर्माण कार्यको अवस्थाबारे अवलोकनसमेत गरिएको थियो भने सहभागीतामूलक छलफलबाट प्राप्त सुझावहरूलाई संस्थागत रुपमा नीति निर्माण तहमा लैजाने प्रतिबद्धता आयोजकले व्यक्त गरेको छ।




















Discussion about this post