मेरठ/असोज २९ गते।भारतको मेरठको एक स्थानीय अदालतले गत वर्ष मर्चन्ट नेभी अधिकारी सौरभ राजपूतको हत्या गरेको अभियोगमा उनकी श्रीमती मुस्कान रस्तोगी र उनका प्रेमी साहिल शुक्लालाई मृत्युदण्डको सजाय सुनाएको छ।
मुस्कान र साहिललाई दुई हप्ताअघि दोषी ठहर गरिएको थियो भने बुधबार अदालतले सजाय घोषणा गरेको हो। यस भयानक हत्याकाण्डमा सिमेन्ट (कंक्रिट) भरिएको नीलो प्लास्टिकको ड्रम घटनाको मुख्य आधार र सबैभन्दा महत्त्वपूर्ण प्रमाण बनेको थियो।
१२६ पटकको सुनुवाइ र २२ साक्षी
१२६ पटकको लामो सुनुवाइ र २२ जना साक्षीको बयानपछि, जिल्ला न्यायाधीश अरविन्द कुमार मिश्रले रस्तोगी र शुक्लाले सौरभ राजपूतको हत्या गर्ने योजनाबद्ध षड्यन्त्र रचेको र उनको टुक्रा-टुक्रा पारिएको शवलाई कंक्रिट र बालुवा प्रयोग गरी नीलो औद्योगिक ड्रमभित्र लुकाएको ठहर गरेका छन्। न्यायाधीशले यस्ता जघन्य अपराधले समाजमा व्यापक त्रास सिर्जना गर्ने टिप्पणी गरेका छन्।
घटनाको दिन बिहान मुस्कान रस्तोगीका आमाबुवाले अदालतलाई बयान दिँदै सौरभ राजपूत “धेरै असल मानिस” रहेको बताएका थिए र यदि दोषीहरूलाई मृत्युदण्ड दिइयो भने “हामी कुनै विरोध गर्ने छैनौं” भनी प्रतिक्रिया दिएका थिए। स्रोतका अनुसार मुस्कान रस्तोगीको परिवारले उनलाई जेलमा कहिल्यै भेट्न गएका थिएनन्।
हत्याको योजना र घटनाक्रम
प्रहरीको अनुसन्धान अनुसार, ३ मार्च २०२५ मा मुस्कान रस्तोगीले इन्दिरा नगरस्थित आफ्नै घरमा पति सौरभ राजपूतको खानामा नशालु पदार्थ मिसाएर बेहोस बनाएकी थिइन्। त्यसको केही समयपछि उनका प्रेमी साहिल शुक्ला त्यहाँ पुगे र दुवै मिलेर राजपूतको चक्कु प्रहार गरी हत्या गरे। त्यसपछि उनीहरूले बाथरुममा लगेर उनको शवलाई टुक्रा-टुक्रा पारे।
अनुसन्धानबाट खुलेअनुसार, शव गल्दा आउने दुर्गन्ध लुकाउन उनीहरूले टुक्रा पारिएका शवका अंगहरूलाई एउटा ठूलो नीलो प्लास्टिकको ड्रममा हाले, त्यसमा बालुवा, पानी र सिमेन्टको ताजा मिश्रण भरेर ड्रमलाई राम्ररी सिल गरेका थिए। हत्यालगत्तै उनीहरू भोलिपल्टै हिमाचल प्रदेश भागेका थिए।
यसबीचमा मुस्कानले राजपूतको मोबाइल फोन प्रयोग गरी उनका परिवारका सदस्यहरूलाई सन्देश पठाउँदै उनी जीवितै रहेको र व्यापारिक कामका लागि यात्रा गरिरहेको भान पारेकी थिइन्।
शव कसरी फेला पर्यो?
गत १७ मार्च २०२५ मा शंका लागेका आफन्तहरू स्थानीय अधिकारीहरूसँगै उनीहरूको घरमा पुगेका थिए। सोही क्रममा सौरभ र मुस्कानकी ६ वर्षीया छोरीले छिमेकीहरूलाई “बुबा ड्रमभित्र हुनुहुन्छ” भनी बताएकी थिइन्।प्रहरीले घरमा रहेको सिल गरिएको नीलो ड्रम काटेर हेर्दाभित्र राजपूतको शव फेला पर्यो। यस घटनाको खुलासा भएको दुई दिनभित्रै प्रहरीले रस्तोगी र शुक्लालाई खोजी गरी पक्राउ गरेको थियो।
मुख्य प्रमाणहरू
मुद्दाको सुनुवाइको क्रममा अभियोजन पक्षले परिस्थितिजन्य, प्राविधिक र भौतिक प्रमाणहरूको बलियो शृङ्खला प्रस्तुत गरेको थियो। स्थानीय पसलेहरूले हत्या हुनुअघि रस्तोगी र शुक्लालाई सोही विशिष्ट नीलो प्लास्टिकको ड्रम, सिमेन्टका बोरा, बालुवा, दाउ (Cleavers) र रेजरहरू बेचेको कुरा बयानमा बताएका थिए।
त्यस्तै, कल डिटेल रेकर्ड र मोबाइल टावरको लोकेसनले अपराधको समयमा शुक्ला सोही घरमा रहेको पुष्टि गर्यो भने उनीहरू दुवैजना सँगै हिँडेर हिमाचलको शिमला र मनालीका होटलहरूमा बसेको समेत पत्ता लगायो। पोस्टमार्टम रिपोर्टले पनि उनको हत्या छुरा प्रहार गरी गरिएको पुष्टि गरेको थियो।
यस फैसलालाई भारतमा महिलालाई मृत्युदण्ड दिइएको एक दुर्लभ र कडा न्यायिक नजिरका रूपमा हेरिएको छ। स्वतन्त्र भारतको इतिहासमा हालसम्म रतन बाई जैनलाई मात्र मृत्युदण्ड दिइएको छ। उनलाई तीन बालिकाको हत्याको अभियोगमा सन् १९५५ जनवरी ३ मा दिल्लीको तिहाड़ जेलमा फाँसी दिइएको थियो। त्यसयता भारतमा कुनै पनि महिलालाई मृत्युदण्ड दिइएको (फाँसीमा झुण्ड्याइएको) छैन् ।
















Discussion about this post