जनकपुरधाम/असार २१ गते। नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिको नवस्थापित कार्यालय जनकपुरधाममा एक समारोहका बीच उद्घाटन गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका–२, भानुचोक नजिकै भाडाको घरमा स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले गरेका हुन्।
कार्यालय व्यवस्थापनका लागि भंगहा नगरपालिकाले फर्निचर, एसी, इन्भर्टर लगायतका सामग्री उपलब्ध गराएको छ भने जनकपुरधाम उपमहानगरपालिकाले कम्प्युटर, प्रिन्टर र टेबल–कुर्सी सहयोग गरेको महासंघका प्रदेश महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ले जानकारी दिए। उनका अनुसार पाँच महिनाअघि भाडामा लिइएको भवनमा आवश्यक सामग्री अभावका कारण कार्यालय सञ्चालनमा आउन सकेको थिएन।
कार्यक्रमका प्रमुख अतिथि मेयर साहले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारहरूलाई तथ्यमा आधारित भएर काम गर्न आग्रह गरे। उनले सञ्चार क्षेत्रको विकासमा स्थानीय सरकारको दायित्व रहेको बताउँदै पूर्वाग्रही र पित्तपूर्ण पत्रकारिता नगर्न अनुरोध गरे। साथै, उनले जनकपुरधाम बाहिर कार्यालय स्थानान्तरण भए भंगहामा आफ्नी आमाको नाममा निःशुल्क जग्गा दिने घोषणा समेत गरे।
महासंघ प्रदेश अध्यक्ष रामकुमार बञ्जाराले दुई नगरपालिकाको सहयोगले कार्यालय व्यवस्थापन सहज भएको र अब सेवा प्रवाहमा थप सशक्तता आउने विश्वास व्यक्त गरे। उनले आफ्नै सुविधासम्पन्न संरचना निर्माणका लागि जग्गा खोजी प्रक्रिया अगाडि बढेको जनाउँदै यसै कार्यकालमा भवन निर्माण हुने प्रतिवद्धता व्यक्त गरे।
उक्त उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख डिआइजी कृष्णराज ढकाल, प्रदेश सरकारका मुख्यमन्त्री प्रेस सल्लाहकार अवधेश झा, महासंघका केन्द्रीय सदस्यहरू राजेश कर्ण, सिकेन्द्र पासवान, राजश विश्वकर्मा,महासंघका सप्तरी जिल्ला अध्यक्ष श्रवण देव,धनुषा जिल्ला अध्यक्ष पुरण साह,धनुषा जिल्ला उपाध्यक्ष अवधेश कामत, बारा जिल्ला अध्यक्ष रमेश सुवेदी, प्रेस युनियनका प्रदेश अध्यक्ष सत्य प्रकाश श्रेष्ठ, प्रेस चौतारी धनुषाका अध्यक्ष नवीन प्रियदर्शी,दलित पत्रकार महासंघका प्रदेश अध्यक्ष कैलास दास लगायत पत्रकारहरुको उपस्थिति उल्लेखनीय थियो। नेपाल पत्रकार महासंघ, मधेश प्रदेशको महासचिव शैलेन्द्र महतो क्रान्तिले सन्चालन गरेको थियो भने कार्यक्रममा स्वागत उपाध्यक्ष अम्बिका दहालले गरेकी थिईन ।




















Discussion about this post