जनकपुरधाम/कार्तिक २८ गते। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्रलाल कर्णले शनिबार मुख्यमन्त्री यादवले पेस गरेको राजीनामा स्वीकृत गरेका हुन्।
नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका थिए।
राजीनामा स्वीकृत भएसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बहुमतको आधार प्रस्तुत गर्न आह्वान गरेको छ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभामा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले आगामी मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्नुपर्नेछ।
मुख्यमन्त्रीको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको बाटो खुलेको छ। अब प्रदेशसभामा बहुमत जुटाउन राजनीतिक दलहरूबीच छलफल र सहकार्य तीव्र हुने देखिएको छ।
निर्धारित समयभित्र बहुमतसहित दाबी पेस गर्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।

















Discussion about this post