कार्तिक २८ गते । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा हिंसा नरोकिने संकेत देखिएको छ ।
शुक्रबार इम्फाल–उखरुल सडकखण्डको न्यु हेभन क्षेत्रमा दुईवटा छुट्टाछुट्टै सवारी साधनलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाइएको छ । त्यस आक्रमणमा आमाछोरा तथा दाजुबहिनीसहित चार जनाको मृत्यु भएको छ । यस घटनाले उक्त क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना गरेको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार शुक्रबार चार जना दुई छुट्टाछुट्टै सवारी साधनमा इम्फालतर्फ जाँदै थिए । यात्राका क्रममा उनीहरूमाथि न्यु हेभन क्षेत्रमा आक्रमण भएको हो । आक्रमणकारीहरूले दुवै सवारी साधनलाई लक्षित गरी गोली चलाएका थिए ।
अचानक गोलीबारीको आक्रमणमा चारै जनाले ज्यान गुमाए ।
घटनाले मणिपुरको सुरक्षा स्थितिलाई लिएर चिन्ता बढाएको छ ।
मणिपुरमा सन् २०२३ को मे महिनामा उपत्यकामा बसोबास गर्ने मेइतेई समुदाय र पहाडी क्षेत्रमा बस्ने कुकी समुदायबीच सुरु भएको जातीय द्वन्द्वमा कम्तिमा ३०६ जनाले ज्यान गुमाएका छन् । ४९ जना अझै बेपत्ता छन् भने हजारौं मानिस घरबारविहीन भएका छन् ।
यसै वर्षको फेब्रुअरीयता पहाडी जिल्लाहरूमा कुकी र नागा समुदायबीच भएको झडपहरूमा कम्तिमा ५० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

















Discussion about this post