गिरिजानन्द साह/जनकपुरधाम/असार ५ गते। कायापलटको आयोजनामा “लोकतान्त्रिक जवाफदेहिताका लागि युवा आवाज” मूल विषयमा केन्द्रित आर्टिभिजम कार्यक्रम जनकपुरधाममा भव्य रूपमा सम्पन्न भएको छ। लोकतन्त्र, नागरिक जिम्मेवारी र सरकारको जवाफदेहितालाई कलात्मक र संवादमूलक माध्यमबाट उजागर गर्न आयोजित कार्यक्रममा युवा सहभागिता उल्लेखनीय देखिएको थियो।
कार्यक्रमको उद्देश्य सामाजिक अन्याय, सरकारको बेवास्ता र जनताको दुःखलाई कला र सार्वजनिक संवादमार्फत उजागर गर्नु रहेको आयोजकले बताए ।कार्यक्रममा दुईवटा प्रमुख संवाद सत्र सञ्चालन गरिएको थियो। पहिलो सत्र “लोकतन्त्र: सवालै सवाल, जवाफदेहिता कसको?” भन्ने विषयमा केन्द्रित थियो। यस सत्रमा मधेश प्रदेशकी सांसद शारदा देवी थापा, राजनीतिक विश्लेषक रोशन जनकपुरी, र एकाउन्टबिलिटी ल्याब नेपालकी कार्यक्रम प्रबन्धक शुभेच्छा चापागाईं वक्ताका रूपमा सहभागी थिए। सत्रको सहजकर्ताको भूमिका कान्तिपुर दैनिकका पत्रकार कमलेश ठाकुरले निर्वाह गरे।

दोस्रो सत्र “Gen Z काे नजरमा लोकतन्त्र!” मा युवा दृष्टिकोणलाई प्राथमिकता दिइएको थियो। यस सत्रमा राजर्षि जनक विश्वविद्यालयका सहायक प्राध्यापक अशोक साह, अनुसन्धानकर्ता चाँदनी साह, युवा पत्रकार रोहित महतो वक्ता थिए भने पत्रकार दिवाकर उप्रेतीले सत्र संचालन गरे।
कार्यक्रममा अनुहार चित्रकला, लोकतन्त्रसम्बन्धी भित्ते कला, अखबार कटिङ प्रदर्शनी लगायतका विविध कलात्मक गतिविधिहरू प्रस्तुत गरिएका थिए। यि गतिविधिहरूले जनचासोका सवाललाई दृश्यात्मक रूपले प्रस्तुत गरे, जसले सहभागीहरूलाई भावनात्मक र वैचारिक रूपमा जोड्ने काम गर्यो। आयोजक कायापलटका अनुसार यस कार्यक्रममार्फत युवालाई लोकतन्त्रप्रति सचेत, उत्तरदायी र अभिव्यक्तिमूलक बनाउने प्रयास गरिएको हो। युवाहरूको सिर्जनात्मक अभिव्यक्तिलाई मंच प्रदान गर्दै लोकतान्त्रिक जवाफदेहिताको आन्दोलनलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।
कला र संवादको समिश्रणबाट लोकतन्त्रको सवाल उठाउने यो कार्यक्रम जनकपुरधाममा प्रभावशाली रूपमा सम्पन्न भएको छ। यसले युवाहरूको सक्रियता र चेतनशीलतालाई उजागर गर्नुका साथै उत्तरदायी शासनप्रणालीको मागलाई नयाँ ढंगले प्रस्तुत गरेको छ। कार्यक्रममा विद्यार्थी, नागरिक समाजका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, कलाकार र सरोकारवाला निकायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।




















Discussion about this post