उमेश कुमार साह,राजविराज।प्रतिनिधि सभा विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपालले सप्तरी सदरमुकाम राजविराजसहित देशका विभिन्न जिल्लाहरुमा शनिवार मशाल जुलुस प्रदर्शन गरेको छ ।
राजविराज स्थित शिव मन्दिर प्राङ्गणबाट निकालिएको मशाल जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै शहिद दशन चौकमा पुगेर विरोधसभामा परिणत भएको छ । कार्यक्रम स्थलहरुमा सुरक्षाकर्मीहरु व्यापक रुपमा परिचालन गरिए पनि मशाल जुलुस प्रदर्शनमा भने खासै अवरोध पुर्याएको छैन ।
आन्दोलनकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्का नाराबाजी गरेका छन् । शहिद दशन चौकमा मशाल जुलुश प्रदर्शन पश्चात आयोजित विरोध सभामा युवा नेता किशोर कुमार यादव, जसपा नेपालको महिला संघ केन्द्रीय उपाध्यक्ष किरण साह, प्रदेश महिला संघकी उपाध्यक्ष गीता यादव, रमिला साह, राष्ट्रीय विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष बिनोद कुमार मण्डल, सप्तरी अध्यक्ष महेश कुमार यादव, युवा नेता केदार यादव, विपिन सिंह, सुधिर यादव असंवैधानिक कदमको विरोध गरेका छन् ।
जनता समाजवादी पार्टी नेपालले तय गरेको विरोध कार्यक्रम अनुसार पुस १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रीय सदस्य अशोक कुमार यादवले जानकारी दिएका छन् ।





















Discussion about this post