गिरिजानन्द साह/जनकपुरधाम/माघ १४ गते। धनुषामा दुई पाङ्ग्रे सवारी चालकलाई लक्षित गर्दै दुई मिनेटको सचेतना कार्यक्रम सुरु गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा तथा मातहतका पोष्टहरुबाट “दुई पाङ्ग्रे सवारी चालकसगँ दुई मिनेट कार्यक्रम” सुरुवात गरिएको हो।
दुई पाङ्ग्रे सवारी साधन दुर्घटनाको जोखिम न्यूनीकरण, रोकथाम र ट्राफिक सचेतना अभिवृद्धि गर्ने उदेश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।
धनुषा ट्राफिक प्रहरी कार्यालयको अगुवाइमा सुरु गरिएको यो अभियानले मोटरसाइकल र स्कुटर चालकलाई सवारी नियमबारे सचेत गराउने उद्देश्य राखेको छ। दुई मिनेटको छोटो समयमै सवारी नियम पालना, हेलमेट प्रयोग, गति नियन्त्रण, लेन अनुशासन,मोटरसाइकलको स्वरुप परिवर्तन र ट्राफिक संकेतहरूको महत्त्वबारे जानकारी दिइनेछ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरिक्षक हरिबहादुर वलीले दुर्घटनाको दर घटाउनु, सवारी चालकलाई सुरक्षित यात्राका लागि आवश्यक जानकारी दिनु र ट्राफिक नियमको पालना गर्न सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रम धनुषाको विभिन्न मुख्य चोकहरूमा बिहानदेखि साँझसम्म सञ्चालन हुने जनाइएको छ। यस क्रममा ५०० भन्दा बढी दुई पाङ्ग्रे सवारी चालकलाई प्रत्यक्ष रूपमा जानकारी दिन सकिने अपेक्षा गरिएको छ।
ट्राफिक सचेतनासँगै, हेलमेटको अनिवार्य प्रयोग र यातायात कानुन उल्लङ्घन गर्दा लाग्ने कारबाहीबारे पनि जानकारी प्रदान गरिनेछ। स्थानीयवासीहरूले यस कदमलाई स्वागत गर्दै यो कार्यक्रमले दुर्घटना न्यूनीकरणमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
















Discussion about this post