गिरिजानन्द साह/धनुषा/माघ १४ गते। धनुषामा यही माघ २५ र २६ गते ‘नेपाल लाटोकोसेरो (उल्लु) तथा हुचिल (मुहदुसा) उत्सव २०८१’ हुने भएको छ।
वातावरण संरक्षण तथा जैविक विविधताको महत्वबारे जनचेतना फैलाउनका लागि विभिन्न कार्यक्रमको आयोजना गरी उत्सवको १२औँ संस्करण धनुषाको मिथिला बिहारी नगरपालिका २ र ३ मा मनाउन लागिएको आयोजक मूल समिति संयोजक देवनारायण मण्डलले जानकारी दिए।
उत्सवमा चरा तथा प्रकृति अवलोकन, स्थानीय लोपोन्मुख खेलहरू तथा सांस्कृतिक गीत तथा नाच प्रदर्शनी र वनविज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरूको लाटोकोसेरो संरक्षणसम्बन्धी नाच र नाटक प्रदर्शन गरिने मिथिला कल्चरल भिलेजमा आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । साथै उत्सवमा निःशुल्क प्रवेश गराइने पनि जानकारी दिएको छ ।
सम्मेलनमा दिएको जानकारी अनुसार नगरपालिकास्तरीय चित्रकला, निबन्ध तथा कविता प्रतियोगितासमेतको आयोजना भइरहेको तथा सो अवधिमा लाटोकोसेरो तथा हुचिलको अस्थायी संग्रहालय निर्माण तथा प्रदर्शनी हुने बताइएको छ। दुई दिनसम्म चल्ने उत्सवमा लाटोकोसेरोसम्बन्धी जानकारी तथा फोटो प्रदर्शनी, गहुँको छ्वाली, चुरा, ढुंगा, स्टिलको पाता, लप्सीको दाना, काठ र माटोबाट बनाइएका लाटोकोसेरोसमेत प्रदर्शन गरिनेछ।
उत्सवमा आठ किसिमका लाटोकोसेरोको आवाज सुन्ने र भिडियो हेर्नेसमेत व्यवस्था हुने आयोजकले जनाएको छ। कार्यक्रममा एक फिट अग्लो लाटोकोसेरोको रोबोट प्रदर्शन गरिनेसमेत आयोजकले जनाएको छ।
सन् २०१२ देखि नेपालमा यो उत्सव मनाउन थालिएको छ । मिथिला वाइल्ड लाइफ ट्रस्ट र ‘प्रकृतिका साथीहरू’को आयोजनामा मनाउन लागिएको सो उत्सवले ठुला स्तनधारी वन्यजन्तुकै हाराहारीमा सिकार तथा अवैध व्यापार हुन थालेको लाटोकोसेरो र हुचिलको संरक्षणमा टेवा पुग्ने प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक राजु आचार्यले बताए।
धनुषाको जैविक विविधताको संरक्षण गर्दै पर्यावरणीय सन्तुलन कायम राख्न यस प्रकारका कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ। कार्यक्रम आयोजकहरूले स्थानीय समुदायलाई संरक्षण अभियानमा सहभागी हुन अपिल गरेका छन्।
लाटोकोसेरो तथा हुचिलजस्ता प्रजातिहरूको संरक्षणले वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस उत्सवलाई सकारात्मक पहलका रूपमा हेरिएको छ।




















Discussion about this post