जनकपुरधाम/माघ ९ गते। धनुषा जिल्लामा सवारी दुर्घटना रोकथाम तथा न्यूनिकरणका लागि ट्राफिक प्रहरीले विशेष सचेतना अभियान सञ्चालन गरेको छ।
धनुषा ट्राफिक प्रहरी प्रमुख ईन्सपेक्टर हरिबहादुर वलीको नेतृत्वमा मंगलबारदेखि जनकपुरधाम सहित जिल्लाका विभिन्न स्थानहरूमा यो अभियान सञ्चालन गरिएको हो। ईन्सपेक्टर वलीले जनकपुरधाम क्षेत्रमा आफैँ सक्रिय रहँदै राजमार्ग र लोकमार्गहरूमा ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम अघि बढाएका छन्।
अत्यधिक चिसो र हुस्सुका कारण हुन सक्ने सवारी दुर्घटना कम गर्न स्कूले बालबालिका, सवारी चालक, साइकिल चालक लगायतलाई ट्राफिक नियमको जानकारी दिइएको छ। विद्यालयको प्रांगणमा ट्राफिक चिन्हहरूको महत्त्वबारे जानकारी गराउँदै बालबालिकालाई जेब्रा क्रसिङ सही तरिकाले प्रयोग गर्न सिकाइएको छ।
सचेतना अभियान अन्तर्गत स्कुल बसहरूको अनुगमन पनि गरिएको छ। क्षमताभन्दा बढी बालबालिका राख्ने, झ्याल नखोल्ने लगायतका विषयमा निगरानी गर्दै केही स्थानमा आवश्यक कारवाही गरिएको ईन्सपेक्टर वलीले जानकारी दिए।
जिल्लाको विभिन्न स्थानहरूमा ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। बालबालिका र विद्यार्थीहरूको सहभागिताले कार्यक्रम थप प्रभावकारी बनेको छ।
धनुषा ट्राफिक प्रहरीको यो पहलले सवारी दुर्घटनाको जोखिम कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
















Discussion about this post