रौतहट/फागुन ६ गते । सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यु आदेश हिजो देखि लगाएको कर्फ्यु आज पनि जारी छ ।
ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएको थियो। झडपमा केही स्थानीय घाइते भएका छन्। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। रौतहटको ईशनाथ नगरपालिका-७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा हिजो साँझ दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए ।
‘विवादलाई सामान्यीकरण गर्न दुई पक्षबीच छलफलका बाबजुत पनि स्थिति सामान्य नभएकाले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भङ्ग हुन जाने स्थिति देखिएकोले तपशिल सीमा क्षेत्रभित्र कसैले आवत जावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न, भेला गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ र्याली गर्न, एवं अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी मिति २०८०।११।०५ गते बेलुका ०५ः ०० बजे देखि अर्को आदेश नभए सम्मको लागी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) कर्फ्यु आदेश जारी गरिएको छ ।’ प्रमुख रेग्मीद्वारा जारी आदेशमा भनिएको छ ।
पूर्वमा जोकाहा, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा कर्फ्यु लगाइएको छ । सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी रातैभरि परिचालन गरिएको छ । यो गाउँमा पछिल्ला ५ वर्षदेखि मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदै आएको छ ।
हिजो स्थानीय प्रशासनको रोहवरमा दुवै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएको थियो । सरस्वतीकाे मूर्ति सेलाउन लैजान दिने र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति भए पनि केही उच्छृङ्खल व्यक्तिहरुले ढुङ्गामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । यस गाउँमा पछिल्लो ५ वर्षदेखि मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदै आएको छ ।














Discussion about this post