सर्लाही/श्रावण ९ गते। सर्लाही जिल्लाको सदरमुकाम मलंगवास्थित भारतीय सीमाक्षेत्र नजिकै मंगलबार एक पुरुषको शव फेला परेको छ।
मलंगवा नगरपालिका-१ भेडियाहीस्थित लडकवा नाका नजिक दशगजा छेउमा नेपालतर्फ २५ देखि ३० वर्षजस्तो देखिने शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सर्लाही जिल्ला प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार धानखेतमा शव फेला परेको थियो। त्यहाँका स्थानीयले शव देखेर प्रहरी बोलाएका थिए।मंगलबार दिउँसो १ बजेतिर उक्त शव भेटिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी कैलाश राई नेतृत्वको टोलीले घटनास्थलको प्रारम्भिक अध्ययन गरिरहेको एसपी सुवेदीले जानकारी दिए।
‘रगतको टाटा लागेको र धानहरू माडिएको हेर्दा भारततर्फ हत्या गरेर घिसार्दै दशगजा कटाउँदै नेपालमा फालिएको देखिन्छ’, सुवेदीले भने, ‘हत्या पनि राति नै भएको हुन सक्छ।’
शवको टाउको र अनुहारमा चोट देखिन्छ भने घिसार्दा लुगा माथि सरेको देखिएको उनले बताए। शवको पहिचान गर्न भारतीय सुरक्षा निकायसँग सम्पर्कको प्रयास भइरहेको पनि उनले जानकारी दिए।
सोमबार राति मात्र सर्लाहीको दक्षिण-पश्चिम क्षेत्रस्थित बलरा छेउको भारतीय बसभिट्टा बजारमा दुईपक्ष बीच गोली हानाहान भएको थियो। जहाँ एक पुरुषको मृत्यु भएको थियो।















Discussion about this post