चैत १९ गते । धनुषाकी आँसुदेवी दनुवारले सुदखोरहरु विनिता शाह, आशा शाह लगायतबाट दुई लाख ६५ हजार ऋण लिएकी थिइन् । त्यो पनि लघुवित्तको किस्ता तिर्न । अहिलेसम्म सुदखोरलाई पैसा त दिएकी छैनन् । तर, सबै गरी १३ लाखको तमसुक लिएर सुदखोरहरुले उनलाई निरन्तर मानसिक यातना दिइरहे ।
पढलेख गर्न नजान्ने अँँसुदेवीले १३ लाखको तमसुक बनेको छ भनेर सुदखोरहरुले घरमा ऋण उठाउन आउन थालेपछि मात्रै थाहा पाइन् । त्यतिधेरै पैसा तिर्ने क्षमता आँसुदेवीको थिएन । जाली तमसुकको माध्यमबाट सुदखोरहरुले आफूलाई फसाइएपछि अहिले न्यायका लागि १२ दिन हिँडेर काठमाडौं आइपुगेकी छन् उनी ।
काठमाडौंबाट न्याय नपाई नफिर्ने प्रण गरेर आइपुगेकी आँसुदेवी बानेश्वरमा धर्ना दिन पुग्छिन् । नारा लगाउँदै बस्ने ठाउँ अनामनगरमा फिर्छिन् । जेसुकै होस्, यसपटक न्यायको मसाल बोकेर गाउँ फिर्ने उनको योजना छ । उनी भन्छिन्, ‘खाली हात गाउँ फिरेँ भने सुदखोरहरुले झनै लखेट्नेछन् । त्यसैले कपाली तमसुकलाई सरकारले खारेज गरिदिएपछि मात्रै गाउँ फिर्छु ।’
आँसुदेवी मात्रै होइन, काठमाडौं आइपुगेकामध्ये दर्जनौँ पीडितहरू लघुवित्तको किस्ता तिर्नका लागि सुदखोरसँग लिएको ऋणले जेलिएका छन् । सुदखोरहरुले जालसाजी गरेर कयौँ गुणा साँवा बढाइएको तमसुकमा ल्याप्चे लगाइएपछि मात्रै ऋण दिन्छन् । त्यही तमसुकको पासोमा परेका पीडितहरूमध्ये कत्तिले घर खेत गुमाएका छन् । कतिले कयौँ गुणा पैसा दिँदा पनि दृष्टि बन्धक राखिएका जग्गाको लालपूर्जा फिर्ता पाएका छैनन् । कति पीडितहरूलाई कपाली तमसुकको आधारमा जेल चलान गरिएको छ ।
३५ जिल्लामा फैलिएको सुदखोरहरुको जन्जालबाट पीडित भएका मिटरब्याजीहरुको प्रतिनिधित्व गर्दै अहिले ७० भन्दा बढी पीडितहरू काठमाडौंमा आइपुगेका छन् । कतिपयले घर खर्चका लागि ऋण लिएका थिए त कतिपयले छोरीको विवाह गराउनका लागि लिएका थिए । कतिपयले पशुपालनका लागि सुदखोरसँग ऋण लिएका थिए त कतिपयले व्यापार, व्यवसाय गर्नका लागि ऋण लिएका थिए । कतिपय भने लघुवित्तको किस्ता तिर्न सुदखोरको शरणमा पुगेका थिए । एकातिर लघुवित्तको पेलान, अर्कातिर सुदखोरहरुको धम्की । दुवै सहन नसकेर काठमाडौं आइपुगेका पीडितहरूको संख्या पनि ठूलै छ ।
काठमाडौं आइपुगेकी लक्ष्मी परियारले पनि किस्ता तिर्नकै लागि ८० हजार ऋण लिएकी थिइन् सुदखोर सरस्वति शाहबाट । तमसुकमा एक लाख साँवा लेखेकी सरस्वतीले एक लाख नै लिइसकिन् । तर, पनि सरस्वतीले दुःख दिन छाडिनन् । अनि परियार काठमाडौं आइपुगेकी छन् ।
रुपादेवी दनुवारले पनि लघुवित्तकै किस्ता तिर्न र विवाह खर्चका लागि धर्म यादव, मुक्ति यादव लगायत सुदखोरसँग साढे पाँच लाख ऋण लिएकी थिइन् । अहिलेसम्म आठ लाख ६० हजार बुझाइसकिछन् । तर, थरीथरीका तमसुकमा गरी २० लाख साँवा लेखिएपछि उनले झण्डै डबल तिरेको पैसा ब्याजमा मात्रै सीमित भयो । सुदखोरहरुले ऋण छिटो तिर्न ताकेका गरिरहेका छन् उनलाई ।
श्रीमतीदेवी दनुवार, शिवतारक सिंह, लिलियादेवी ठाकुर, खैरुल खातुन, कविता पासवान, पार्वतीदेवी मण्डल,लक्ष्मी दास, जानकीदेवी दास, उर्मिला सिंह, सन्जलाकुमारी सिंह लगायत कयौँ पीडित किस्ता तिर्नका लागि सुदखोरलाई गुहार्न पुगेकाले मिटरब्याजको सिकार बनेका छन् ।
मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवान लघुवित्तले ऋण दिने प्रक्रिया नै गलत रहेको औंल्याउँछन् । उनी भन्छन्, ‘अहिले हामीकहाँ एकाध पीडितहरू लघुवित्त पीडितहरू हुनुहुन्छ । उहाँहरूले किस्ता तिर्नका लागि सुदखोरबाट ऋण लिनुभएको छ । त्यसका लागि उहाँहरूले जग्गा दृष्टि बन्धक राख्नेदेखि लिएर नामासारी गराउने गर्नुभएको छ । यसमा लघुवित्तको पनि कमजोरी देखिन्छ । उसले नियमानुसार ऋण दिने हो, उत्पादनशील क्षेत्रमा ऋण दिने हो । तर एकै व्यक्तिलाई दर्जनौँ लघुवित्तले लगालग ऋण दिएका छन् । त्यसबाट फुत्किन सुदखोरकहाँ पुग्दा झनै फसेका छन् ।’
लघुवित्तहरूले मापदण्द नराखी लगालग ऋण दिनु र उत्पादनशील क्षेत्रका लागि ऋण नदिनु नै पीडितहरू सुदखोरबाट फस्ने गरेको पासवान बताउँछन् । लघुवित्तको किस्ता तिर्न मात्रै होइन, घरायसी खर्च, छोरीको विवाहका लागि, व्यापार गर्न लगायत कामका लागि सुदखोरबाट ऋण लिँदा पीडितहरू अत्यधिक फसेको देखिन्छ ।
सप्तरीका तैयव अलीले जग्गा किन्न, पसल गर्न र छोरीको विवाह गर्नका लागि सुदखोर रामदेव शाहसँग पटकपटक गरी ७३ लाख ७० हजार ऋण लिए । र पटकपटक गरी एक करोड सात लाख शाहलाई बुझाए । तैपनि तमसुक अनुसार अझै करोडभन्दा माथि शाहलाई तिर्न बाँकी छ अलिले । अलि भन्छन्, ‘मेरो मजबुरीलाई बुझेर शाहले मलाई फसाए । शाहबाट न्याय पाउनका लागि काठमाडौं आएको हुँ ।’





















Discussion about this post