अजय कुमार झा/जनकपुरधाम/माघ २४ गते ।जिल्ला प्रशासन कार्यालयमा बिचौलिया नियन्त्रणका लागि धनुषाका अधिकृत कर्मचारीहरूको संस्थाको रुपमा रहेको अधिकृत सङ्गमले न्यून सेवा शुल्क लिएर राष्ट्रिय परिचयपत्रको विवरण भर्ने व्यवस्था शुरु गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको निर्देशनमा अधिकृत संगम धनुषाले त्यसका लागि कम्प्युटर, प्रिन्टर खरिद गरेर दुई जना कर्मचारी परिचालन गरेको छ ।
व्यवस्थित तरिकाले अधिकृत संगम धनुषाले नै न्यून सेवा शुल्क लिएर राष्ट्रिय परिचयपत्रको विवरण भर्ने व्यवस्था गरेपछि सेवाग्राहीहरू खुसी भएका छन् ।
बाहिर दुई सयदेखि ५ सयसम्म पनि लिने गरेकोमा अधिकृत सङ्गमले १ सय सेवा शुल्कमा अनलाइन मार्फत विवरण भर्ने व्यवस्था शुरु गरेको हो ।
बाहिर हुने ठगीबाट जोगिने भएपछि सेवाग्राहीहरूले जिल्ला प्रशासन कार्यालय धनुषाको उक्त कार्यको सराहना गरेका छन् ।
अधिकृत सङ्गमले गरेको आम्दानीबाट संगमका कर्मचारीहरूको हकहितका साथै सामाजिक क्षेत्रमा विभिन्न प्रकारको कामकाज गर्दै आएको छ ।
साथै आम सेवाग्राहीबाट लिएको न्यून सेवा शुल्कबाट विवरण सङ्कलनमा खटिने कर्मचारीको तलब तथा उपकरण खरिद र सञ्चालनमा लाग्ने खर्च बेहोरिने भएको छ ।
अधिकृत सङ्गमले राष्ट्रिय परिचयपत्रका लागि विवरण भरेर प्रदान गर्ने गरेको प्रिन्ट कपी लिएर जिल्ला प्रशासन कार्यालयको परिचयपत्र बनाउने शाखामा गएपछि तुरुन्तै परिचयपत्रका लागि थप विवरण लिने भएको छ ।
निकट भविष्यमा नै अधिकृत सङ्गमबाट अनलाइन पासपोर्टको फारम भराउने कामको सुरुआत गरिने प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।





















Discussion about this post