बैशाख २६ गते। यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा स्थानीय प्रशासनले मदिरा निषेध गर्नुका साथै भारतसँग जोडिएका सीमानाका बन्द गर्ने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै मदिरा निषेध र भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबार हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्थाअनुसार यस्तो आदेश जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
मंगलबार राति १२ः०० बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि धनुषा जिल्ला भरी सबै प्रकारका मादक पदार्थ (मदिरा) को विक्री वितरण र सेवन कार्य निषेध गर्नुका साथै गते राति १२ः०० बजेदेखि शुक्रबारसम्म भारतीय सीमासँग जोडिएका सीमानाकासमेत पूर्णत बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
मंगलबार राति १२ः०० बजेदेखि ३० गतेका दिन मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा/शव बाहान, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सावरी साधन र अनुमति प्राप्त सवारी साधन बाहेकका सावरी साधन सञ्चालनमा निषेध गरिएको उनले जानकारी दिए ।
सो आदेश बमोजिम गर्न गराउन हुन सम्बन्धित सबैमा अनुरोध गर्दै प्रस्तुत आदेशको बर्खिलाप भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।














Discussion about this post