कार्तिक ३० गते। धनुषाका चर्चित टिकटक प्रयोगकर्ता बुदुर पासवानको उपचारका क्रममा मृत्यु भएको छ ।
सामाजिक सञ्जाल टिकटकमा हास्यव्यङ्ग्य तथा मनोरञ्जनात्मक भिडियोमार्फत लोकप्रिय बनेका पासवानको सोमबार अपराह्न उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनी धनुषाको औरही गाउँपालिका–१ पौडेश्वरस्थित जनकपुर–पौडेश्वर सडकखण्डको छेउमा सिकिस्त बिरामी अवस्थामा फेला परेका थिए ।
सडक छेउमा रगत वान्ता गरिरहेको अवस्थामा भेटिएका पासवानलाई तत्काल उपचारका लागि जनकपुरधाम ल्याइएको थियो । तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
सामान्य जनजीवनका घटना, हास्यव्यङ्ग्य तथा मनोरञ्जनात्मक विषयवस्तुलाई आफ्ना भिडियोमा समेट्दै आएका पासवान स्थानीय दर्शकमाझ निकै लोकप्रिय थिए । उनको सरल र सहज प्रस्तुति शैलीका कारण टिकटकमा उनलाई पछ्याउने र उनका भिडियो रुचाउनेको संख्या उल्लेख्य थियो ।
पासवानले टिकटकका विभिन्न चर्चित व्यक्तित्वसँग समेत सहकार्य गर्दै भिडियो निर्माण गरेका थिए । उनका मनोरञ्जनात्मक भिडियोले सामाजिक सञ्जालमा राम्रो चर्चा पाउने गरेका थिए ।
उनको निधनको खबर सार्वजनिक भएसँगै उनलाई चिन्ने, माया गर्ने तथा उनका भिडियो हेर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दुःख व्यक्त गरेका छन् ।
पासवानको मृत्युको वास्तविक कारणबारे भने प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।

















Discussion about this post