रौतहट/असोज २७ गते। बैंक तथा ई–सेवाको कर्मचारी भएको भन्दै ग्राहकलाई केवाईसी (KYC) अपडेट गर्ने बहानामा करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहट प्रहरीले भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलन गरी पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढीका २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र रौतहटको गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालका अनुसार असोज २३ गते गौर नगरपालिका–३ को पोखरिया टोल र वडा नम्बर–५ को कोइरी टोलमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार यस घटनासम्बन्धी हालसम्म २२ वटा उजुरी परेका छन् । प्रारम्भिक अनुसन्धानबाट पीडितहरूबाट कुल ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको एसपी रिजालले जानकारी दिएका छन् ।
केवाईसी अपडेटको बहानामा बैंकिङ विवरण चोरी
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका आरोपितहरूले बैंक तथा ई–सेवाको कर्मचारी भएको परिचय दिँदै फोन र ह्वाट्सएपमार्फत सर्वसाधारणलाई सम्पर्क गर्ने गरेका थिए ।
उनीहरूले ग्राहकको खाता सुरक्षित राख्न वा सेवा निरन्तर सञ्चालन गर्न केवाईसी अपडेट गर्नुपर्ने भन्दै सेवाग्राहीलाई विश्वासमा लिने गरेको खुलेको छ । त्यसपछि भिडियो कलमार्फत मोबाइलको स्क्रिन शेयर गर्न लगाउने र गुगल फारम भर्न लगाएर बैंकिङ तथा व्यक्तिगत विवरण प्राप्त गर्ने गरेको प्रहरीको भनाइ छ ।
यसरी प्राप्त विवरणको दुरुपयोग गरी पीडितको बैंक खाता तथा डिजिटल वालेटबाट रकम अन्यत्र स्थानान्तरण गरेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
डिजिटल बैंकिङ सेवाको प्रयोग बढिरहेको अवस्थामा ग्राहकलाई विश्वासमा लिएर संवेदनशील विवरण प्राप्त गर्ने र त्यसैको दुरुपयोग गरी रकम निकाल्ने शैली अपनाइएको प्रहरीको भनाइ छ ।
ठगीको रकम क्रिप्टोकरेन्सीमा लगानी गरेको आशंका
प्रहरीका अनुसार ठगीबाट प्राप्त रकम अमेरिकी डलरमा रूपान्तरण गरी बाइनान्समार्फत स्थानान्तरण गरिएको तथा क्रिप्टोकरेन्सीमा लगानी गरिएको हुन सक्ने आशंका गरिएको छ ।
यद्यपि, रकमको वास्तविक प्रवाह, कारोबारमा प्रयोग भएका माध्यम र यसमा संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा अन्य व्यक्ति तथा समूहको संलग्नता हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ । ठगीको मुख्य योजनाकार र अन्य सम्भावित संलग्न व्यक्तिहरूको खोजीसमेत जारी रहेको एसपी रिजालले बताएका छन् ।
नगद, मोबाइल, सिमकार्ड र बैंकिङ कागजात बरामद
पक्राउ परेका व्यक्तिहरूको साथ तथा सम्बन्धित स्थानबाट प्रहरीले नेपाली रुपैयाँ १ लाख ६२ हजार २१० र भारतीय रुपैयाँ ३ हजार २३६ बरामद गरेको जनाएको छ ।
त्यसैगरी, प्रहरीले सात थान मोबाइल फोन, ११ थान सिमकार्ड, ३० थान बैंक भौचर, तीन थान एटीएम कार्ड, तीन थान चेकबुक, एक थान पेनड्राइभ र दुई थान मेमोरी कार्ड बरामद गरेको छ ।
ठगीसम्बन्धी विवरण उल्लेख गरिएका डायरी तथा विभिन्न कागजातसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामग्रीको परीक्षण तथा विश्लेषणबाट घटनासम्बन्धी थप तथ्य खुल्न सक्ने प्रहरीको अपेक्षा छ ।
पक्राउ परेका तीनै जनामाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
अनलाइन ठगीबाट जोगिन प्रहरीको आग्रह
डिजिटल माध्यमबाट हुने ठगीका घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
बैंक वा डिजिटल वालेटको कर्मचारी भन्दै अपरिचित व्यक्तिले फोन वा भिडियो कल गरेमा मोबाइलको स्क्रिन शेयर नगर्न, ओटीपी, पिन, पासवर्ड तथा बैंकिङ विवरण उपलब्ध नगराउन प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै, केवाईसी अपडेट गर्ने नाममा व्यक्तिगत वा वित्तीय विवरण माग्ने व्यक्तिप्रति सतर्क रहन र शंकास्पद फोन वा सन्देश प्राप्त भएमा सम्बन्धित बैंक वा आधिकारिक सेवा प्रदायकसँग सम्पर्क गरेर यकिन गर्न प्रहरीले सुझाव दिएको छ ।
प्रहरीका अनुसार कुनै पनि बैंक वा डिजिटल वालेटसम्बन्धी सेवा अपडेट गर्ने क्रममा अपरिचित व्यक्तिलाई संवेदनशील विवरण उपलब्ध गराउनु जोखिमपूर्ण हुन सक्छ । त्यसैले आधिकारिक माध्यमबाट मात्र सेवा सम्बन्धी जानकारी लिन र शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
















Discussion about this post