काठमाडौं । नेपाली कांग्रेसले सरकारको उदासीनताका कारण मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको र आम नागरिकको जनजीविका सङ्कटमा परेको निष्कर्ष निकालेको छ।
मङ्सिर ८ देखि ११ गतेसम्म बसेको पार्टीको केन्द्रीय समिति बैठकले मुलुकको आर्थिक अवस्था, महँगी, बेरोजगारी तथा आम नागरिकले भोगिरहेका समस्याबारे समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेको हो।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका महामन्त्री प्रदीप पौडेलले महँगीका कारण सर्वसाधारणको भान्सा प्रभावित भएको र साना व्यवसायीले व्यवसाय सञ्चालन गर्न तथा बैंकको ऋण तिर्नसमेत कठिनाइ भोगिरहेको बताए।
उनले बजार चलायमान हुन नसकेको, निजी क्षेत्रको आत्मविश्वास घट्दै गएको तथा वैदेशिक रोजगारीमा जाने युवाले विभिन्न समस्या र सास्ती खेप्नुपरेको उल्लेख गरे। किसान, श्रमिक र सहकारी पीडितका समस्या पनि समाधान हुन नसकेको उनको भनाइ थियो।
महामन्त्री पौडेलले गलत काम गर्ने जोकोहीलाई कानुनी कारबाही गर्नुपर्ने भए पनि अनुसन्धान तथ्य र प्रमाणका आधारमा हुनुपर्नेमा जोड दिए।
पक्राउ गरेपछि प्रमाण खोज्ने प्रवृत्तिले उद्यमशीलता, लगानी र व्यावसायिक वातावरणमा नकारात्मक असर पार्ने उनले बताए। कानुनी प्रक्रिया र अनुसन्धानलाई निष्पक्ष तथा प्रमाणमा आधारित बनाउनुपर्ने उनको धारणा थियो।
नागरिकलाई डर र त्रास नभई आँट र भरोसाको आवश्यकता रहेको उल्लेख गर्दै महामन्त्री पौडेलले सुशासन कायम गर्न संस्थागत सुधार र प्रभावकारी प्रणाली निर्माणमा जोड दिए।
कांग्रेसले मुलुकको आर्थिक अवस्था सुधार, निजी क्षेत्रको विश्वास अभिवृद्धि र आम नागरिकका दैनिक समस्याको समाधानका लागि सरकार गम्भीर हुनुपर्ने निष्कर्ष निकालेको छ।

















Discussion about this post