जनकपुरधाम/१२ मङ्सिर । जनकपुरधाममा आयोजना हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट एक टोली भारतको अयोध्या प्रस्थान गरेको छ।
जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् तथा नागरिक समाजका प्रतिनिधि सम्मिलित टोली सरयू–कमला एक्सप्रेस रेलमार्फत अयोध्या गएको हो।
जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहले विवाहपञ्चमी महोत्सवले जनकपुरधाम र अयोध्याबीच रहिआएको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
त्रेतायुगमा राजा जनकले सीता–राम विवाहका लागि राजा दशरथलाई निमन्त्रणा पठाएको परम्परालाई पुनः जीवन्त बनाउने उद्देश्यले टोली अयोध्या गएको नगरप्रमुख साहले बताए।
टोलीले विवाहपञ्चमी महोत्सवको निमन्त्रणासँगै लत्ताकपडा, गरगहना, भाँडाकुँडालगायतका सामग्री समावेश गरिएको परम्परागत भारसमेत लिएर गएको छ।
जनकपुरधाममा प्रत्येक वर्ष सीता र रामको विवाहको स्मरणमा साताव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाउने परम्परा रहिआएको छ। यस महोत्सवले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा पौराणिक सम्बन्धलाई थप मजबुत बनाउँदै आएको छ।

















Discussion about this post