रौतहट/असोज १९। रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२ जना भारतीय नागरिकको प्रहरीले उद्धार गरी स्वदेश फर्काएको छ।
लक्ष्मीपुरस्थित मदिना इँटाभट्टामा काम गर्न भारतको उत्तर प्रदेशस्थित मुरादाबादबाट आएका १२ पुरुष, ११ महिला, १० बालक र ९ बालिका गरी ४२ जनालाई प्रहरीले उद्धार गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार उद्धार गरिएका सबैलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को जिम्मा लगाइएको छ।
इँटाभट्टा सञ्चालक मोहम्मद मुजामिलका अनुसार कामदारको रासन तथा अन्य खर्च व्यवस्थापन गर्ने भन्दै भारतीय ठेकेदार मोहम्मद नासिरले चार दिनअघि आफूबाट भारु ६ लाख लिएर सम्पर्कविहीन भएका थिए। ठेकेदार सम्पर्कविहीन भएपछि इँटाभट्टामा काम गरिरहेका कामदारहरू खाद्यान्नलगायत आवश्यक सामग्रीको अभावमा अलपत्र परेका थिए।
आगामी असारसम्म इँटाभट्टामा काम गर्नेगरी ठेकेदारमार्फत आश्रित परिवारसहित ती कामदारलाई नेपाल ल्याइएको बताइएको छ। तर ठेकेदार एक्कासि सम्पर्कविहीन भएपछि इँटाभट्टा सञ्चालकले प्रहरीलाई जानकारी गराएका थिए।
सूचना पाएपछि प्रहरीले घटनास्थलमा पुगेर अलपत्र कामदारको उद्धार गरेको हो।
प्रहरी नायब उपरीक्षक गौतमले कामदारलाई नेपाल ल्याएर अलपत्र पार्ने भारतीय ठेकेदार मोहम्मद नासिरको खोजी भइरहेको बताए। घटनाबारे थप अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ।















Discussion about this post