जनकपुरधाम/असोज १९ गते । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै धनुषामा सडक व्यवस्थापन तथा सवारी आवागमनलाई सहज बनाउन जथाभावी पार्किङ नियन्त्रण अभियान तीव्र पारिएको छ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको निर्देशन तथा समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जिल्लाका मुख्य सडक, बजार तथा बढी सवारी चाप हुने क्षेत्रमा अनुगमन बढाएको हो।
अभियानअन्तर्गत जिरोमाइल तथा आसपासका मुख्य सडक, बजार क्षेत्र र व्यस्त स्थानमा सडक छेउ तथा आवागमनमा अवरोध हुने गरी पार्किङ गरिएका सवारीसाधन हटाउने तथा चालकलाई सचेत गराउने काम भइरहेको छ। ट्राफिक प्रहरीले चालकहरूलाई तोकिएका पार्किङस्थलमा मात्र सवारीसाधन पार्किङ गर्न आग्रह गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले चाडपर्वका समयमा सवारीसाधन तथा सर्वसाधारणको चाप बढ्ने भएकाले सडक व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए।
उनका अनुसार जथाभावी पार्किङका कारण सडक साँघुरिनुका साथै सवारी आवागमनमा अवरोध र दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले चालकहरू स्वयं जिम्मेवार बन्न आवश्यक छ।
‘चाडपर्वका बेला सडकमा सवारीको चाप स्वाभाविक रूपमा बढ्छ। त्यसैले जथाभावी पार्किङ नगरी तोकिएको पार्किङ स्थलको प्रयोग गर्न र ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सबैलाई आग्रह गरेका छौँ,’ प्रहरी निरीक्षक दाहालले भने।
ट्राफिक प्रहरीले चाडपर्व अवधिभर सडक अनुशासन कायम गराउन नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ। सडकलाई सबैको साझा सम्पत्ति सम्झेर सुरक्षित, व्यवस्थित र अनुशासित यातायात व्यवस्थापनमा सहयोग गर्न आम नागरिक तथा सवारी चालकलाई समेत आग्रह गरिएको छ।
‘सडक सुरक्षित बनाऔँ, अनुशासित यात्रा गरौँ’ भन्ने सन्देशसहित सञ्चालन भइरहेको अभियानले चाडपर्वका समयमा हुन सक्ने सवारी जाम तथा दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ।















Discussion about this post