सप्तरी/असोज १९ गते । दश वर्षअघि घरबाटै हराएका सप्तरीका एक बालकलाई प्रहरीले खोजी गरी परिवारको जिम्मा लगाएको छ।
अग्नीसाइर कृष्ण सवरण गाउँपालिका–६ का ऋषिदेव सदाका छोरा १६ वर्षीय शिवकुमार सदालाई प्रहरीले परिवारको जिम्मा लगाएको हो।
शिवकुमार ६ वर्षको उमेरमा घरबाटै हराएर बेपत्ता भएका थिए। उनी भारतको नयाँ दिल्लीमा रहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले उनको खोजतलासलाई तीव्र बनाएको थियो।
खोजीका क्रममा प्रहरीले नयाँ दिल्लीस्थित ‘किड इन्डिया’ संस्थासँग आवश्यक समन्वय गरेको थियो। संस्थाले खोजतलासका क्रममा शिवकुमारलाई फेला पारेपछि त्यसका निर्देशक नवीन जोशीले जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेसँग समन्वय गरेका थिए।
संस्थाले असोज १८ गते शिवकुमारलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएर बुझाएको थियो। त्यसपछि प्रहरीले सोही दिन राति अग्नीसाइर कृष्ण सवरण गाउँपालिका–६ का जनप्रतिनिधिको रोहवरमा उनलाई अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
दश वर्षपछि छोरा सकुशल घर फर्किएपछि परिवारमा खुसी छाएको छ। लामो समयदेखि बेपत्ता रहेका बालबालिकाको खोज तथा उद्धारमा सम्बन्धित निकाय र संघसंस्थाबीचको समन्वय महत्वपूर्ण हुने प्रहरीले जनाएको छ।















Discussion about this post