जनकपुरधाम, असोज १९ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा २० वर्षीया विवाहित महिला प्रियंका दास घरभित्रै मृत अवस्थामा फेला परेकी छन्।
स्थानीय विनोद दासकी पत्नी प्रियंका आइतबार साँझ आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घटनाको खबर पाएलगत्तै प्रहरी चौकी कपिलेश्वरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ। घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।
प्रियंकाको मृत्यु शंकास्पद रहेको भन्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। घटनाको वास्तविकता सार्वजनिक गर्न माग गर्दै स्थानीयले रातिसम्म मृतकको घरअगाडि विरोधसमेत गरेका थिए।
यसैबीच प्रहरीले प्रारम्भिक सोधपुछका लागि मृतकका श्रीमान् विनोदलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शवको मुचुल्का उठाउने तथा पोस्टमार्टमका लागि पठाउने प्रक्रिया अघि बढाइएको छ। पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानबाट मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।
प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै मृत्युको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।















Discussion about this post